रामेछाप । कोरोना सङ्क्रमित हुनेको सङ्ख्या तीव्र रुपमा बढेपछि रामेछाप जिल्लाभर निषेधाज्ञा लगाइदै छ । बुधबार बसेको जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समिति बैठकले विहीबार मध्यरात १२ः०० बजेदेखि आगामी जेठ ९ गते आइतबार मध्यरात १२ः०० बजेसम्म जिल्लाका सवै स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । निषेधाज्ञा अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग भएका, निर्माण सामाग्री बोकेका, परिचयपत्र बोकेका, प्रेसपास तथा परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु सञ्चालन हुने छन् । पेट्रोल पम्प, खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्कीय पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूणर् पालना गरी बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै, सरकारी निकाय, सार्वजनिक संस्थान र बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवा प्रवाह गर्दा आलोपाले प्रणालिमा न्यूनतम कर्मचारीबाट स्वास्थ्य सुरक्षाका मापदणको पालना गरी सेवा प्रवाह गर्नपर्नेछ । बैंक तथा वित्तीय संस्थाका हकमा बिहान १०ः०० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । विवाह ब्रतबन्धजस्ता संस्कारका हकमा बढीमा आठ जनासम्म व्यक्ति र बढीमा एउटा सानो सवारी साधन प्रयोग गरेर सञ्चालन गर्न पाइने छ । निषेधाज्ञा अवधिमा सबै प्रकारका होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, चिया तथा खाजा पसल, सैलुन, व्युटीपार्लर लगायतका सबै पसल तथा व्यवसायहरु बन्द रहनेछन् । यस्तै, विद्यालय तथा शैक्षिक संस्था, नित्य पूजाबाहेकका अन्य सबै किसिमका देवाली, चण्डी, सामुहिक पुजाआजा लगायतका सम्पूणर् धार्मिक, साँस्कृतिक गतिविधिहरुमा रोक लगाइएको छ । सेवा प्रदायकले सेवाग्राहीका घर आँगनमा पुगी दिने सबै प्रकारका विमा तथा बचत सङ्कलन लगायतका सेवामा समेत रोक लगाइएको छ । सबै प्रकारका भेला, प्रशिक्षण, तालिम, गोष्ठी, मेला महोत्सव, हाटबजार, जात्रा र पर्व मनाउने तथा सञ्चालन गर्ने कार्यमा समेत रोक लगाइएको छ । यस्तै, पीसिआर परीक्षणका लागि स्वाव दिएपछि रिपोर्ट नआएसम्म बाहिर भेटघाट गर्न निषेध गरिएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न पनि पाइने छैन । निषेधाज्ञा गरिएको क्षेत्रमा आन्तरिक सार्वजनिक तथा निजी यातायातका साधनहरु सञ्चालमा पनि निषेध गरिएको छ । यसअघि वैशाख २१ गतेदेखि मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ को करम्बोट बजार, मन्थली नगरपालिका वडा नं.३ ठुलीमदौँ, वडा नं. ६ कुनौरी र सेलेघाट, वडा नं. ७ को मुगिटार, वडा नं. ८ को गाइखुरा, मन्थली नगरपालिका वडा नं. १३ को देवीटार र वडा नं. १४ को पोखरी बजार क्षेत्र र गोकुलगङ्गा गाउँपालिका वडा नं. १, ४ र ५ क्षेत्रमा जारी गरिएको निषेधाज्ञा अवधिम आज रातको १२ः०० बजे सकिँदै छ ।
आज मध्यरातदेखि रामेछाप जिल्लाभर निषेधाज्ञा
- प्रकाशित मिति: बिहिबार, बैशाख ३० २०७८
- तामाकोशी