रामेछाप । रामेछाप सदरमुकाम मन्थली सहित जिल्लाका विभिन्न बजार क्षेत्रमा वैशाख २० गते सोमबार मध्यरातिदेखि जारी निषेधाज्ञामा थप कडाइ गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणदर फैलिरहेको भन्दै जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले वैशाख २४ गते शुक्रबार मध्यराति १२ः०० देखी निषेधाज्ञामा थप कडाइ गर्ने भएको हो । (डिसीसीएमसी)का संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले विहीबार एक सूचना प्रकाशन गरी वैशाख २४ गते शुक्रबार मध्यराति १२ः०० देखी जारी निषेधाज्ञामा थप कडाइ गर्ने जनाउनुभएको हो । खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्कीय पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूणर् पालना गरी बिहान ६ः००बजेदेखि ९ः०० बजेसम्म एक सिफ्टमा मात्रै सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाहरु मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पूणर् रुपमा पालन गर्ने गरी न्यूनतम कर्मचारीबाट बिहान १०ः०० देखी मध्यान्ह १२ः०० सम्म सेवा प्रवाह गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सैजूले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ । यसअघि खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्कीय पसलहरु बिहान ६ः००बजेदेखि ९ः०० बजेसम्म र साँझा ५ः०० बजेदेखि ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुँदै आएको थियो भने बैङ्क तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारीबाट सेवा प्रवाहको गरिरहेका थिए । जिल्लाको मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ को करम्बोट बजार ,मन्थली नगरपालिका वडा नं.३ ठुलीमदौँ, वडा नं. ६ कुनौरी र सेलेघाट, वडा नं. ७ को मुगिटार, वडा नं. ८ को गाइखुरा क्षेत्रमा सोमबार राति १२ः०० बजेदेखि २७ गते राति १२ः०० बजेसम्म निषेधाज्ञा जारी छ । यसैगरी, मन्थली नगरपालिका वडा नं. १३ को देवीटार र वडा नं. १४ को पोखरी बजार क्षेत्र र गोकुलगङ्गा गाउँपालिका वडा नं. १, ४ र ५ क्षेत्रमा पनि निषेधाज्ञा जारी छ ।
