रामेछाप । वैशाख १३ गते,
सरोकारवाला निकायले ध्यान नदिँदा रामेछापको खाँडादेवी गाउँपालिकाको कञ्चेनी सामुदायिक वनमा लागेको आगो अझैँ नियन्त्रणमा आउन सकेको छैन । आइतबार बेलुका करिब ८ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि प्रहरी र वन कार्यालयलाई पटक-पटक खबर गर्दा समेत चासो नदिएका कारण वनमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् । खाँडादेवी गाउँपालिका वडा नं. ८ मझुवामा रहेको कञ्चेनी सामुदायिक वनबाट सुरु भएको आगलागीका कारण करिब २० घर उच्च जोखिममा रहेको सोही गाउँपालिकाको वडा नं. ८ का स्थानीय विष्णु भण्डारीले जानकारी दिनुभयो । आगलागीका कारण कञ्चेनी खोला खानेपानी आयोजनामा क्षति पुगेको उहाँले बताउनुभयो । त्यस खानेपानी आयोजनाको एक लाइन जलेर नष्ट भइसकेको स्थानीय भण्डारीले बताउनुभयो । खानेपानी आयोजनाको पाइपलाइ जलेर नष्ट भएसँगै करिब ५० घर उपभोक्ताहरु पिउने पानीबाट वञ्चित हुने अवस्थामा पुगेका उहाँले बताउनुभयो । स्थानीयद्वारा आगलागी नियन्त्रणको प्रयास भएपनि आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीय भण्डारीको भनाई छ । तर, डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत शङ्करराज गिरीले भने यस घटनाको बारेमा आफूहरुलाई जानकारी नभएको बताउनुभयो ।
खाँडादेवीको कञ्चेनी सामुदायिक वनमा आगलागी : नियन्त्रणमा सरोकारवाला निकायको उदासीनता
- प्रकाशित मिति: सोमबार, बैशाख १३ २०७८
- तामाकोशी