रामेछापमा भूकम्पले भत्किएका ४४ हजार ३८१ घरको पुनर्निर्माण

  • प्रकाशित मिति: आइतबार, बैशाख १२ २०७८
  • तामाकोशी

रामेछाप । बैशाख १२ गते ,
गोरखा महाभूकम्प गएको छ वर्षमा रामेछापमा भूकम्पले भत्किएका ४४ हजार बढी निजी घर पुनर्निर्माण भएका छन् । वि.सं. २०७२ साल बैशाख १२ गते आएको गोरखा महाभूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति भएका घर मध्ये ४४ हजार ३८१ निजी घर पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रामछापले जनाएको छ । जिल्लामा भूकम्पका कारण ५७ हजार ९५६ निजी घर भत्किएको थियो । ती मध्ये ५५ हजार ५२४ घर पुनर्निर्माणका लागि सम्झौता भएकोमा हालसम्म ४४ हजार ३८१ घरको पुनर्निमाण भएको एकाइका सूचना अधिकारी निरोज श्रेष्ठले बताउनुभयो ।
निजी घर पुनर्निर्माणका लागि जिल्लाका ५५ हजार ४३८ जना लाभग्राहीले पहिलो किस्ता बापत दुई अर्ब ७७ करोड १४ लाख ५० हजार रुपियाँ, ४७ हजार ७६३ लाभग्राहीले दोस्रो किस्ता बापत सात अर्ब १६ करोड ४४ लाख ५० हजार रुपियाँ र ४४ हजार ३८१ लाभग्राहीले घर निर्माण कार्य सम्मपन्न गरी चार अर्ब ४३ करोड ८१ लाख रुपियाँ रकम बुझिसकेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । भूकम्पले भत्किएका ४७ गुम्बा पुनर्निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म सात वटाको मात्रै काम भइरहेको , मर्मतमा परेका ३५ गुम्बामध्ये २९ वटाको काम सकिएको र छ वटाको मर्मत कार्य भैरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । पुनर्निर्माणका क्रममा जिल्लाका विभिन्न स्थानमा रहेका २१ जना भूमिहीनलाई आवास निर्माण गर्न अनुदान रकम बाहेक जग्गा खरिदका लागि दुई लाख रुपियाँका दरले रकम प्रदान गरिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयले जनाएको छ ।