रामेछाप । वैशाख ६ गते,
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा हालसम्म रामेछाप जिल्लामा चार करोड रुपियाँ भन्दा बढी रकम खर्च भएको छ । दुई नगरपालिका र छ गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा चार करोड २५ लाख ८३ हजार ९०८ रुपियाँ खर्च गरेको मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र मानवअधिकार सचेतन विकास केन्द्र हुराडेगले प्रतिवेदन सार्वजनिक गरेको हो । सोमबार सदरमुका मन्थलीमा एक एकार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहले कोरोना रोकथाम र नियन्त्रणमा हालसम्म गरेका खर्च विवरणहरु उल्लेख छन् । प्रतिवेदन अनुसार मन्थली नगरपालिकाले ७० लाख ९५ हजार रुपियाँ, रामेछाप नगरपालिकाले ८२ लाख २२ हजार ५२१ रुपियाँ, उमाकुण्ड गाउँपालिकाले ६७ लाख ३५ हजार ९८४ रुपियाँ, गोकुलगङ्गा गाउँपालिकामा ६३ लाख दुई हजार ४९६ रुपियाँ, लिखुतामाकोशी गाउँपालिकामा २७ लाख रुपियाँ, खाँडादेवी गाउँपालिकाले ६६ लाख २४ हजार ३७६ रुपियाँ, दोरम्बा गाउँपालिकाले १६ लाख रुपियाँ र सुनापति गाउँपालिकाले ८ लाख ३३ हजार रुपियाँ खर्च भएको गरेका छन् । पालिकाहरुले सवैभन्दा बढी क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा खर्च गरेका छन् । यस्तै पालिकाहरुले आइसोलेशन निर्माण, औषधी, उपकरण बेड खरिद, मानवीय श्रोत परिचालन, स्वयम्सेवक परिचालन, यातायात, राहत वितरण र भिटीएम, आरडिटी खरिद लगायतका शीर्षकमा खर्च गरेका छन् । नगरपालिका तथा गाउँपालिकाको कोष, वाग्मती प्रदेश सरकार, कर्मचारी र नगरप्रमुखहरुको सहयोगबाट उक्त रकम खर्च गरिएको प्रतिवेदनमा लेखिएको छ । सञ्जालका अध्यक्ष पाण्डव प्रसाई र इन्सेक रामेछापका प्रतिनिधि नवराज पथिकले पछिल्लो समय कोरोनाको महामारी बढिरहेको सन्दर्भमा क्वारेन्टाइन व्यवस्थापनमा खर्च दोहोरिन सक्ने भएकाले आगामी दिनहरुमा त्यसतर्फत थप निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो।
कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा चार करोड बढी रकम खर्च
- प्रकाशित मिति: सोमबार, बैशाख ६ २०७८
- तामाकोशी