रामेछापका ३५ हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा

  • प्रकाशित मिति: आइतबार, बैशाख ५ २०७८
  • तामाकोशी

रामेछाप । बैशाख ५ गते,
सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको ३९ महिनामा रामेछाप जिल्लाका जम्मा १७ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । २०७४ पौष २६ गतेबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको थियो । बिमा कार्यक्रम लागु भएको ३९ महिनामा जिल्लाका जम्मा ३५ हजार नागरिकले मात्रै स्वास्थ्य बिमा गराएका छन् । हालसम्म ज्येष्ठ नागरिक सहित ११ हजार ८५३ परिवारका ३५ हजार ११४ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुङ्गेलले बताउनुभयो । वि.स २०६८ सालको जनगनणा अनुसार रामेछापको कुल जनसङ्ख्या दुई लाख एक हजार ४२३ छ । २०६८ सालको जनसङ्ख्यालाई आधार मान्दा ३९ महिनाको अवधिमा जिल्लाका जम्मा १७ दशमलव ४३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचा पुगेको देखिन्छ । दर्ता अधिकारी ढुङ्गेलका अनुसार जिल्लाको मन्थली नगरपालिकाका ११ हजार ४४४ जना, सुनपाति गाउँपालिकाका छ हजार ५६७ जना, रामेछाप नगरपालिकाका तीन हजार ४४५ जना, लिखुतामाकोशी गाउँपालिकाका दुई हजार ३९० जना, गोकुलगङ्गा गाउँपालिकाका दुई हजार ४७१ जना, उमाकुण्ड गाउँपालिकाका दुई हजार १५३ जना र खाँडादेवी गाउँपालिकाका तीन हजार २७९ जना, सुनापति गाउँपालिकाका छ हजार ५६७ जना र दोरम्बा गाउँपालिकाका तीन हजार ३६५ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा बोर्डले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाको ६४ वटै वडामा दर्ता सहयोगि मार्फत स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । पाँचजना सम्मको परिवारले वार्षीक ३५ सय रुपैया तिरे पछि एक वर्षका लागि एक लाख रुपियाँ सम्मको स्वास्थ्य सेवा लिन पाउने स्वास्थ्य बिमा बोडको नियमावलीमा उल्लेख छ । पाँचजना भन्दा बढी सदस्य भएका परिवारले प्रति ब्यक्ति सातसय रुपियाँ तिरेपछि स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन पाउँनेछन् ।