रामेछाप । चैत १३ गते ,
रामेछापका झण्डै १९ हजार नागरिकले कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । जिल्लामा सञ्चालन भएका पहिलो र दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म जिल्लाका १८ हजार ८९३ जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले पहिलो चरणमा सञ्चालन भएको खोप अभियान अन्गर्तगत पहिलो प्राथमिकतामा परेका एक हजार ९२ जना र दोस्रो प्राथमिकतामा परेका एक हजार २२ जना गरी दुई हजार ११४ जनालाई कोरोना विरुद्धको खोप लगाइएको बताउनुभयो । त्यसैगरी दोस्रो चरणको खोप अभियान अन्तर्गत गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म जिल्लाको गोकुलगंगा, उमाकुण्ड, दोरम्बा र सुनापति गाउँपालिकाका ५५ वर्ष माथीका ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी ८ हजार ६०९ जनलाई खोप लगाइएको बताउनुभयो । यस्तै चैत ५ गते बिहीबारबाट हालसम्म जिल्लाको मन्थली र रामेछाप नगरपालिका , खाँडादेवी र लिखुतामाकोशी गाउँपालिकाका ६५ वर्ष माथिका जेष्ठ नागरिक र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी ८ हजार १७० जनालाई कोरोना विरुद्धको खोप लगाइएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । दोस्रो चरणको खोप अभियान अन्तर्गत ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी २३ हजार २१ जना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य कार्यालयको तयारी भएपनि १८ हजार ८९३ जनाले मात्रै खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले आफुले लिएको लक्ष्य भन्दा चार हजार १२८ जना कम नागरिकलाई खोप लगाएको हो ।
रामेछापका १८ हजार ८९३ जनाले कोरोना विरुद्धको खोप लगाए
- प्रकाशित मिति: शुक्रबार, चैत्र १३ २०७७
- तामाकोशी