सचिव र सदस्य माथि कुटपिट गर्नेलाई कारबाही गर्न सुनचाँदी कला व्यवसायी संघको माग

  • प्रकाशित मिति: मंगलबार, चैत्र १० २०७७
  • तामाकोशी

रामेछाप । चैत १० गते,

नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ रामेछापले आफ्नो सचिव र सदस्य माथि कुटपिट गर्ने दोषी उपर आवश्यक कारबाही गर्न माग गरेको छ । सङ्घले यही चैत ८ गते आइतबार बेलुकी जिल्लाको मन्थली नगरपालिका वडा नं ८ जखनिटारमा सङ्घका सचिव सिताराम लोहार र सदस्य एरिक बराईलीमाथि आक्रमण गरी लुटपाट गर्नेलाई कानूनी कारबाही गर्न मंगलबार विज्ञप्ती निकालेर माग गरेको हो । मन्थली नगरपालिका वडा नं ११ पेटासी घर भई मन्थलीमा सुनचाँदी व्यवसाय गर्दै आएका सङ्घका सचिव लोहार र सदस्य बराईलीलाई घरमा विरामी आमालाई औषधी पु¥याएर मोटरसाइकक मार्फत पसलमा फर्कने क्रममा एक्कासी पछाडीबाट अपरिचित व्यक्तिको समुहले कुटपिट गरी सामाग्री र नगद समेत लुटेको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको सङ्घद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
घटनामा संलग्न दोषी उपर हदैसम्मको कडा कानूनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउँदछौँ; विज्ञप्तीमा भनिएको छ । सुनचाँदी व्यवसायी समग्र व्यवसायीको एक हिस्सा भएकाले सुनचाँदी व्यवसायमा देखिएको समस्यालाई समग्र व्यवसायीको समस्या ठानी यस्ता खालका घटनामा आवाज वुलन्द गर्न सम्पूर्ण व्यवसायीहरुमा समेत सङ्घले आह्वान गरेको छ । यस्ता घटनाले जिल्लाको शान्ति सुरक्षामै चुनौती दिँदै उद्योग व्यवसायीमाथि धावा बोलेको सङ्घलेको ठहर छ । यसैबिच सांघातिक आक्रमण गर्ने तीन जन युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घका सचिव लोहार र सदस्य बराइलीमाथि आक्रमण गर्ने मन्थली नगरपालिका वडा नं ८ का भक्त बहादुर माझी, कुसे सार्की र मदन माझीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताउनुभयो