दोस्रो चरणको खोप अभियान अन्तर्गत १५ हजार तीनसय बढीले कोरोना विरुद्धको खोप लगाए

  • प्रकाशित मिति: आइतबार, चैत्र ८ २०७७
  • तामाकोशी

रामेछाप । चैत ८ गते ,
दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछापका १५ हजार तीनसय भन्दा बढीले कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत चैत ७ गते शनिबारसम्म जिल्लाका १५ हजार ३५१ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका ५५ वर्ष माथीका ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी आठ हजार ६०९ जनलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । यो अवधिमा जिल्लाको गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिकाका नागरिकले खोप लगाएका थिए । चैत ५ गते बिहीबारवाट जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका , रामेछाप नगरपालिका , खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका जेष्ठ नागरिक र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने कार्य जारी छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार खोप सुरु भएको तेस्रोदिन शनिबारसम्म छ हजार ७४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो चरणमा जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकाका ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी १० हजार ९७० भन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य कार्यालयको तयारी छ । दोस्रो चरणको खोप अभियानमा जिल्लाको आठ स्थानीय तहका ६४ वटा वडाका ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी २३ हजार २१ जना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य कार्यालयको तयारी छ ।