रामेछापको मन्थलीमा तीनदिने पत्रकारिता तालिम सुरु

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १३ २०७७
  • तामाकोशी

रामेछाप । फागनु १३ गते ,
राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापले पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तीनदिने पत्रकारिता तालिम सुरु गरेको छ । संघले बिहीबार मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता एवम् राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यतामा एक कार्यक्रमको आयोजना गरि दलित समुदायबाट आएर पत्रकारिता पेशामा लागेका पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने पत्रकारिता तालिम सुरु गरेको हो । पत्रकारिता सम्बन्धी शिप तथा क्षमता विकास प्रवद्र्धन गराउने उद्देश्यले यस तालिम कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ । कार्यक्रममा मन्थली नगरपालिका नगरप्रमुख रमेश कुमार वस्नेतले सत्य, तथ्य घटनामा आधारित भएर राज्यका तीन वटै निकायले गरेका काम कारबाहीको बारेमा पत्रकारहरुले लेख्नुपर्ने बताउनुभयो । निकै दुःखद, सङ्घर्षशील र चुनौतीपूर्ण पेशा भएकोले यस क्षेत्रमा गम्भीर र इमान्दारितापुर्वक लागि पर्नुपर्नेमा नगरप्रमुख बस्नेतको जोड छ । उहाँले राज्यका तीन निकाय व्यवस्थापिका, कार्यपालिका र न्यापालिकाले गरेका गतिविधि र समाजमा हुने विभिन्न विकृति, विसंगतिका विरुद्धमा गम्भीर र इमान्दारपूर्वक ढंगले पत्रकारले कलम चलाउनुपर्ने बताउनभयो । पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पत्रकार महांसघका पूर्व अध्यक्षहरु नवराज पथिक, बद्री नयाँघरे, हिमाल ढुंगेल, राष्ट्रिय दलित पत्रकार संघ बागमती प्रदेशका प्रदेश सदस्य गम्भीर विश्वकर्मा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रामेछापका अध्यक्ष नवराज श्रेष्ठ लगायका पत्रकारहरुले आफुनो धारणा राखेका थिए । पत्रकारीता क्षेत्रमा समय परिवर्तनसँगै विभिन्न प्रविधिको विकास भएको सन्दर्भमा प्रविधि अनुसार इमान्दारिता र कुशलतापूर्वक रुपमा कलम चलाउनुपर्नेमा उहाँहरुको जोड छ । रामेछापका चार स्थानीय तह रामेछाप नगरपालिका, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका र खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग एवम् राष्ट्रिय दलित पत्रकार संघ रामेछापको आयोजनामा सञ्चालित तालिममा १९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिमका राष्ट्रिय दलित पत्रकार संघ नेपालका सल्लाहकार संयोजक तथा दलित अधिकारकर्मी पत्रकार जे.वी विश्वकर्माले प्रशिक्षण दिइरहनुभएको छ ।