रामेछाप । फागुन १३ गते ,
रामेछापका स्थानीय सरकार रोजगारीका लागि बिदेश जानेलाई सकेसम्म आफ्नै ठाउँमा रोजगारी दिन र बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने कार्यमा लागेका छन् । दुई नगरपालिका र छ वटा गाउँपालिका मध्ये मन्थली नगरपालिका ,सुनापति गाउँपालिका,दोरम्बा गाउँपालिका र उमाकुण्ड गाउँपालिका सकेसम्म स्वदेशमै रोजगारीको दिलाउन र विदेश जानेहरुलाई पनि दक्ष र सुरक्षित बनाउन सुरक्षित बैदेशिक रोजगार कार्यक्रम मार्फत संयुक्त रुपमा लागेका छन् । युवाहरुलाई सकेसम्म स्वदेशमै रोजगारी दिन र विदेश जानेहरुलाई पनि आवश्यक शिप प्रदान गरी दक्ष र सुरक्षित बनाउन विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो । उहाँले पशुपालन , कृषि , कुटिर उद्योग लगायत मार्फत नागरिकलाई रोजगारी प्रदान गर्ने योजना बनाईएको बताउनुभयो । नगरमा सुरक्षित आप्रवाशन कार्यक्रम सञ्चालन कार्यविधि स्विकृत गरि कार्यान्वय भैरहेको छ , यसैलाई लक्षित गरी प्रधानमन्त्री रोजगार अन्र्तगतका कार्यक्रम सञ्चालन गरिएको छ , रोजगार सेवा केन्द्रको सञ्चालन र व्यवस्थापनमा नगरपालिका लागिरहेको नगरपालिकाका उपसचिव प्राविधिक हेमन्त बुढाथोकीले बताउनुभयो । उहाँले विदेश जाने शक्तिलाई रोजगारी दिन र विदेश जानेहरुलाई थप सुरक्षित बनाउन नगरले लघु उद्यमसंग सम्बन्धित कार्यक्रमहरु , श्रमदान मूलक योजनाहरुको छनौट , युवा उद्यम कार्यक्रमहरु , रिटर्नी स्वयंमसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । सुरक्षित बैदेशिक रोजगार कार्यक्रमका रामेछाको तथ्याङ्क अनुसार अहिले जिल्लाका ४३ हजार ७४१ जना युवा युवतीहरु बैदेशिक रोजगारीका लागि विभिन्न देशमा छन् । आर्थिक वर्ष २०६७÷०६८ देखी गत आर्थिक वर्ष २०७६÷०७७ सम्म एक दशकको अवधिमा श्रम स्विकृती लिएर ३८ हजार ३२८ जना पुरुष र पाँच हजार ४१३ जना महिला बैदेशिक रोजगारीमा गएको सुरक्षित बैदेशिक रोजगार कार्यक्रमका कार्यक्रम अधिकृत भोजराज सुनुवारले बताउनुभयो । जिल्लाबाट युएई,कतार ,बहराइन,कुवेत , साउदी अरब र ओमान जस्ता मुलुकमा रोजगारीका लागि गएका छन् , जिल्लाबाट अधिकांस मानिसहरु महिनामा २५ हजार रुपियाँ देखी ३० हजार नेपाली रुपियाँ कमाउन बिदेश गएको देखिन्छ कार्यक्रम अधिकृत सुनुवारले भन्नुभयो । जिल्लाको चारवटा पालिकाहरुले सञ्चालन गरेको सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी सेवा केन्द्र (सूचना केन्द्रमा) चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारी सम्बन्धि ५४ वटा समस्या(मुद्दा) आएका छन् । जसमा महिलाका पाँचवटा र पुरुषका ४९ वटा समस्या(मुद्दा) छन् । आएका समस्या मध्ये २६ वटाको समाधान भैसकेको र २९ वटा प्रक्रियामा रहेको सुरक्षित बैदेशिक रोजगार कार्यक्रम रामेछापका संयोजक सागरबिक्रम बस्नेतले बताउनुभयो । बैदेशिक रोजगार कार्यक्रम(सामी) परियोजनाले विहीबार मन्थलीमा सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारको भूमिका बिषयमा अन्तरक्रिया गरेको हो ।
बैदेशिक रोजगारीलाई सुरक्षित बनाउदै रामेछापका स्थानीय सरकार
- प्रकाशित मिति: बिहिबार, फाल्गुन १३ २०७७
- तामाकोशी