रामेछाप । फागुन ८ गते,
रामेछापको उमाकुण्ड गाउँपालिकामा चट्याङ लागेर एक बालिका घाइते भएकी छिन् । शुक्रबार साँझ परेको चट्याङ लागेर उमाकुण्ड गाउँपालिका वडा नं. ७ फास्टु बस्ने अम्बर बहादुर खड्काको ४ वर्षीया छोरी स्वस्तिका खड्का घाइते भएकी हुन् । आफ्नै घरभित्र बसिरहेको अवस्थामा शुक्रबार साँझ करिब साँढे छ बजेको समयमा परेको चट्याङ लागेर घाइते भएकी बालिका खड्कालाई स्वास्थ्यचौकी भुजी रामेछापमा सामान्य उपचारपछि अहिले सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार घाइते बालिकाको बाँया आँखा, निधारमा सामान्य चोट लागेको छ भने केही मात्रमा कपाल पनि जलेको छ । अहिले उनको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । भुकम्पपछि बनेको भुकम्प प्रतिरोधी घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
उमाकुण्ड गाउँपालिकामा चट्याङ लागेर एक बालिका घाइते
- प्रकाशित मिति: शनिबार, फाल्गुन ८ २०७७
- तामाकोशी