रामेछापमा प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारीका लागि दुई नगरपालिकाबाट ४३२ सूचीकृत

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ५ २०७७
  • तामाकोशी

रामेछाप । फागुन ५ गते ,
चाुलु आर्थिक वर्षका लागि रामेछापको दुईवटा नगरपालिकाका ४०० बढी व्यक्ति बेरोजगार सूचीकृत भएका छन् । जिल्लाको मन्थली नगरपालिकाका २२५ जना र रामेछाप नगरपालिकाका २०७ जना बेरोजगार व्यक्तिहरु रोजगारीका लागि सूचीकृत भएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम एक सय दिनको रोजगारीका यो वर्ष मन्थली नगरपालिका भित्रका सबै वडाबाट दुई सय २५ जनाको नाम सूचीकृत भएको मन्थली नगरपालिकाका सूचना अधिकारी उपसचिव हेमन्त बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार रोजगारीका लागि नगरभित्रका १४ वटा वडाका ७७७ जनाले रोजगारी पाउँभनि निवेदन दिएका थिए । यसबाट सरकारी मापदण्ड अनुसार २२५ जनाको नाम रोजगारीका लागि सूचीकृत गरिएको हो , सूचना अधिकारी बुढाथोकीले भन्नुभयो । नगरपालिकाले बेरोगारीमा सूचीकृत भएकाहरुलाई आगामी चैत महिनाको पहिलो साताबाट यूनत एक सय दिन बराबरको रोजगारी प्रदान गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आथिक वर्ष मन्थली नगरपालिकामा एक करोड १६ लाख ३९ हजार रुपियाँ बजेट परेको छ । गत आर्थिक वर्ष नगरपालिकाले १७७ जनालाई रोजगारी प्रदान गरेको थियो । यस्तै रामेछाप नगरपालिकाबाट २०७ जना बेरोजगारीको नाम सूचीकृत भएको छ । ९ वटा वडा रहेको नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको न्युनतम सय दिनको रोजगारीका लागि प्रत्येक वडाबाट २३÷२३ जना बेराजगार व्यक्तिहरुको नाम सूचीकृत भएको नगरपालिकाका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । नगरपालिकाले गत वर्ष ३०३ जनालाई रोजगार दिएको थियो । बेरोजगारीलाई रोजगार दिनकै लागि यस वर्ष एक करोड सात लाख ७ हजार रुपियाँ बजेट आएको छ , अहिले ११ लाख ९० हजार रुपियाँका दरले सबै वडामा बजेट पठाइएको छ रोजगार संयोज त्रिपाठीले भन्नुभयो । बेरोजगार व्यक्तिले दिनको ८ घण्टा काम गरे वापत ५ सय १७ रुपयौँका दरले एक सय दिनको रोजगारी पाउने छन्।