रामेछाप नगरपालिकाले सुरु गर्यो लोकसेवा तयारी कक्षा

  • प्रकाशित मिति: सोमबार, माघ २६ २०७७
  • तामाकोशी

रामेछाप । माघ २६ गते,
रामेछाप नगरपालिकाले लोकसेवा तयारी कक्षा सुरु गरेको छ । नगरभित्र लोक सेवाको तयारीमा जुटिरहेका विद्यार्थीहरुलाई लक्षित गरी नगरपालिकाले लोक सेवाको तयारी कक्षा सुरु गरेको हो । सोमबारदेखि सुरु भएको लोक सेवा तयारी कक्षा १५ दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ । नांै वडा रहेको नगरपालिकाले सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा प्रत्येक वडाबाट पाँच÷पाँच जना विद्यार्थीहरु सहभागी गराइएको छ । नगरले सञ्चालन गरेको तयारी कक्षामा ४० जना महिला र १० जना पुरुष गरी जम्मा ५० जना विद्यार्थीहरु सहभागी रहेको रामेछाप नगरपालिकाका उपप्रमुख सिर्जना खड्काले जानकारी दिनुभयो । उपप्रमुख खड्काका अनुसार लोकसेवा तयारी कक्षामा सहभागिहरुलाई निःशुल्क रुपमा खाजाको समेत व्यवस्था गरि दैनिक दिनमा चार सेसन मा पढाइने व्यवस्था मिलाइएको छ । नगर अन्तर्गत अध्ययनरत कतिपय विद्यार्थीहरुलाई लोकसेवा फारम कहाँ र कसरी भर्न सकिन्छ भन्ने कुराको समेत ज्ञान नभएकाले उनीहरुलाई लोकसेवा सम्बन्धी आधारभूत ज्ञान, सीप प्रदान गर्ने उद्देश्यले लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको उपप्रमुख खड्काको भनाई छ । उहाँले यस तयारीले कक्षाले नगरबासी विद्यार्थीहरुलाई प्रशासनिक क्षेत्रमा लाग्न थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । भर्खरै मात्र लोकसेवा पास गरेर नगरपालिकामा कर्मचारीका रुपमा आएका कर्मचारी र जिल्ला अन्तर्गत रहेका अन्य कर्मचारीहरुबाट लोक सेवाको तयारी कक्षामा प्रशिक्षणको व्यवस्था गरिएको उहाँको भनाई छ ।