रामेछाप । माघ २२ गते,
कोरोनाविरुद्धको खोप अभियान प्रारम्भ भएको एक हप्तामा रामेछापका एकहजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी हालसम्म एक हजार १४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो चरणको खोप प्रयोगका लागि ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी, ७० जना निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ,७५२ जना महिला स्वास्थ्य स्वयमसेविका ,३५ जना एम्बुलेन्स चालक, ४५ जना सुरक्षाकर्मी र २१ जना सरफाइकर्मीलाई गरी जिल्लाभरका एक हजार ४७७ जनाको नामावली पठाएको छ । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको छ । एक भाइल खोपमा दश डोज हुने भएकाले पहिलो चरण अन्तर्गत जिल्लामा आएको खोपले १५ सय ९० जनालाई पुग्ने स्वास्थ्य कार्यालय रामेछापको भनाई छ । दुई नगरपालिका र छ गाउँपालिका रहेको रामेछापमा माघ १४ गते बुधबार कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।
रामेछापका एक हजार बढीले कोरोना विरुद्धको खोप लगाए
- प्रकाशित मिति: बिहिबार, माघ २२ २०७७
- तामाकोशी