रामेछाप । माघ १६ गते,
रामेछापमा कोरोनाविरुद्धको खोप अभियान प्रारम्भ भएको तेस्रोदिनसम्म २३१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रामेछाप र मन्थली नगरपालिका अन्तर्गतका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी २३१ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ३९ जना र दोस्रोदिन विहीबार ९० र तेस्रोदिन शुक्रबार १२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो चरणको खोप प्रयोगका लागि ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी, ७० जना निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ,७५२ जना महिला स्वास्थ्य स्वयमसेविका ,३५ जना एम्बुलेन्स चालक, ४५ जना सुरक्षाकर्मी र २१ जना सरफाइकर्मीलाई गरी जिल्लाभरका एक हजार ४७७ जनाको नामावली पठाएको छ । अब शनिबारदेखि १९ गते सोमबारसम्म खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिका अन्तर्गतका व्यक्तिहरुलाई खोप दिइने छ भने २० गतेदेखि २२ गते बिहिबारसम्म उमाकुण्ड, गोकुलगंगा र लिखुतामाकोशी गाउँपालिका अन्तर्गतका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको छ । एक भाइल खोपमा दश डोज हुने भएकाले पहिलो चरण अन्तर्गत जिल्लामा आएको खोपले १५ सय ९० जनालाई पुग्ने स्वास्थ्य कार्यालय रामेछापको भनाई छ ।
रामेछापका २३१ जनाले कोरोना विरुद्धको खोप लगाए
- प्रकाशित मिति: शुक्रबार, माघ १६ २०७७
- तामाकोशी