रामेछाप । माघ १३ गते,
रामेछापका १४ सय भन्दा बढीलाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाइँदै छ । माघ १४ गते बुधबारदेखी सुरु हुने पहिलो चरणको खोप अभियान अन्तर्गत दुई नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको जिल्लाबाट एक हजार ४७७ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वाथ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाभरबाट ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी, ७० जना प्राभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र ७५२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई खोप लगाइदै छ । त्यसैगरी ३५ जना एम्बुलेन्स चालक, ४५ जना तीनवटै निकायका सुरक्षाकर्मी, रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका २१ जना सरसफाईकर्मीलाई खोप लगाइदै छ । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार एक भाइल खोपमा दश डोज हुन्छ । पहिलो चरण अन्तर्गत जिल्लामा अहिले आएको खोपले १५ सय ९० जनालाई पुग्ने जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । कोरोना विरुद्धको खोप केन्द्रको रुपमा स्वास्थ्य कार्यालय रामेछाप मात्रै तोकिएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि नामावली पठाएका सबै जनालाई त्यहीबाट खोप लगाइने जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । यसअघि स्वास्थ्य कर्यालयले जिल्लाभर चारवटा खोप केन्द्र माग गरेको भएपनि केन्द्रले एउटा मात्र खोप केन्द्र सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनु भएको छ । स्वास्थ्य कार्यालय रामेछापले कोरोना विरुद्धको खोप प्रयोगको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । खोपकेन्द्रमा भ्याक्सिनेशन फोकल पर्सनले खोप लगाउन आउनेहरुलाई आवश्यक परामर्श र व्यवस्थापन मिलाउनेछ भने एइएफआई फोकल पर्सनले खोप प्रयोपछि हुनसक्ने स्वास्थ्य समस्याको निगरानी तथा उपचार गर्नेछ ।
रामेछापका एक हजार ४७७ जनालाई कोरोना विरुद्धको खोप लगाइदै
- प्रकाशित मिति: मंगलबार, माघ १३ २०७७
- तामाकोशी