रामेछापमा कसैको पनि दादागिरी चल्दैन : डिएसपी ढुंगाना

  • प्रकाशित मिति: आइतबार, माघ ११ २०७७
  • तामाकोशी

रामेछाप । माघ ११ गते,
रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जिल्लामा कसैको पनि दादागिरी नचल्ने बताउनुभएको छ । जिल्लाको प्रहरी प्रमुख भएर आपछि पहिलो पटक आइतबार जिल्ला प्रहरी कार्यालयमा एक परिचयात्मक कार्यक्रमको आयोजना गरी जिल्लामा सञ्चालित हाइड्रोपावर प्रति लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा सहभागिहरुले जिल्लामा सञ्चालित हाइड्रोपावरहरुको दादागिरी नियन्त्रणमा प्रहरी लाग्नुपर्ने सुझावका बारेमा बोल्दै डिएसपी ढुंगानाले यो वा त्यो नभनि कसैलाई पनि दादागिरी गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । माघ ९ गते शुक्रबारबाट जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका डिएसपी ढुंगानाले प्रहरी आचारसंहिताको पुर्ण पालनाका साथ नागरिकले अनुभूति गर्नेगरी जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने बताउनुभयो । आफ्नो कार्यकालमा जिल्लामा कुनै पनि पावर र पहुँच नचल्ले भन्दै उहाँले कानुन् विपरित काम गर्ने जो कोहीलाई पनि नछाड्ने बताउनुभयो । जनताले तिरेको करबाट तलब खाएकाले जनताकै लागि काम गर्ने प्रतिवद्धता जनाउदै डिएसपी ढुंगानाले जिल्लामा हुने सबै खालका घटनाहरुको अनुमानका आधारमा नभै तथ्य र प्रमाणका आधारमा अनुशन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो । रामेछापमा अन्य घटनाको तुलनामा आत्महत्याका घटना एकदमै बढी रहेकाले यस्ता घटना बढ्नुका कारण पक्ता लगाएर आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने समेत उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दल , पत्रकार , रामेछाप उद्योग बाणिज्य संघ , रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ लगायतका प्रमुख एवं प्रतिनिधिहरुले विभिन्न सुझावहरु दिएका थिए ।