रामेछाप । माघ १० गते,
नेपाल जेसिज रामेछाप शाखाले बृहत रक्तदान कार्यक्रम गरेको छ । सदरमुकाम मन्थली स्थित नेपाल रेडक्रस सोसाइटीमा जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । विभिन्न अस्पतामा रगतको अभाव भैरहेको अवस्थालाई मध्येनजर गरी रक्तदान कार्यक्रम आयोजन गरिएको संस्थाले जनाएको छ । सो क्रममा जेसिजका पदाधिकारी, पत्रकार, व्यसायी तथा सामाजिक अगुवाहरु गरी २० जनाले रक्तदान गरेको नेपाल जेसिज रामेछापले जनाएको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले रक्तदान कार्यक्रम गरेर जेसिजले प्रशंसनिय काम गरेको बताउदै यस्ता कार्यलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो । उहाँले दाताहरुको रक्त समूह छुट्याई सम्पर्क नं सहितको अभिलेख राख्न सके आवश्यक परेको बेला तत्काल रगत लिन सकिने बताउनुभयो । बस्नेतले यो काम गर्नको लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा जेसिजका जिल्ला अध्यक्ष जीवन कार्कीले रक्तदान कार्यक्रम जेसिजको नियमित कार्यक्रम भएको बताउनुभयो । रगतको समस्या भएमा अन्य दाता समेत खोजेर पुनः रक्तदान कार्यक्रम गर्न सकिने उहाँले बताउनुभयो । रक्तदातालाई मन्थली नगरपालिका प्रमुख बस्नेतले प्रमाणपत्र प्रदान समेत गर्नुभएको थियो । २० जनाले दिएको २० पौण्ड रगत नेपाल रेडक्रस सोसाइटी रामेछापलाई हस्तान्तरण गरिएको छ । रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेको थियो ।
जेसिज रामेछापको रक्तदान कार्यक्रम : २० जनाले गरे रक्तदान
- प्रकाशित मिति: शनिबार, माघ १० २०७७
- तामाकोशी