रामेछापमा माघ १५ गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिदै

  • प्रकाशित मिति: शुक्रबार, माघ ९ २०७७
  • तामाकोशी

रामेछाप । माघ ९ गते ,
आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनका लागि रामेछाप जिल्लामा माघ १५ गतेदेखी २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने भएको छ । जिल्लामा रहेको दुई नगरपालिका र छ गाउँपालिकामा १५ गतेदेखि २१ गतेसम्म र जिल्ला निर्वाचन कार्यायमा माघ १५ गतेदेखी २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा भएका दोहोरोपना एवम् त्रुटि सच्याउने उद्देश्यले सञ्चालन हुने उक्त कार्यक्रममा सम्बन्धित स्थानीय तहमा गएर मतदाता नामावलीमा सुचीकृत भएको आफ्नो नाम, थर र वतनको विषयमा त्रुटि भए नभएको बारेमा जानकारी लिई सच्याउनका लागि मतदाताले निवेदन दिन सक्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत शम्भु कटुवालले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले आगामी १० गतेदेखि २४ गतेसम्म कायम रहने गरी प्रत्येक स्थानीय तहमा सहायक नाम दर्ता आधिकारी तोक्ने छ , नामदर्ता अधिकारी र सहायक नाम दर्ता अधिकारीले कार्यक्रम सञ्चालन स्थान, अवधि, समय र प्रक्रिया सहितको अनुसूची २ बमोजिमको सूचना मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको केन्द्र लगायतका कार्यालयहरुमा सूचना टाँस गर्ने छन् । त्यसैका आधारमा मतदाता नामावलीमा सूचीकृत भएका मतदाताहरुले आफ्नो नाम, थर र वतनमा त्रुटि भएको पाएमा सम्बन्धित अधिकारी समक्ष निवेदन दिन सक्ने छन् । रामेछापमा २०७४ सालदेखि हालसम्म कायम रहेका मतदाताहरुको सङ्ख्या एक लाख ५२ हजार पाँच सय ५९ जना रहेका छन् भने एक सय ९१ वटा मतदान केन्द्र रहेका छन् । यो निर्वाचनमा एक लाख ६५ हजार चार सय दश जना मतदाता कायम हुने जिल्ला निर्वाचन कार्यालको अनुमान गरिएको छ । जिल्लामा अब ९० वटा मतदान केन्द्र र दुई सय तीन वटा मतदान केन्द्र कायम हुने जिल्ला निर्वाचन कार्यालयको अनुमान छ । प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले निर्वाचनको मिति तय भएसँगै निर्वाचन सम्वन्धी गतिविधिहरु जिल्लामा शुरुवात भइसकेकाले त्यही अनुसार आवश्यक तयारीका साथै सुरक्षा व्यवस्था पनि मिलाइएको बताउनुभयो ।