रामेछापका तीन पालिकाको कोरोना जोखिम भत्तामा ९६ लाख बढी खर्च

  • प्रकाशित मिति: आइतबार, पुष १९ २०७७
  • तामाकोशी

रामेछाप । पुस १९ गते,
रामेछापका तीनवटा पालिकाले ९६ लाख बढी कोरोना जोखिम भत्ता वितरण गरेको छ । जिल्लाको खाँडादेवी ,उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र उपचारमा खटिएका कर्मचारीहरुलाई ९६ लाख ७५ हजार ४०२ रुपैयाँ जोखिम भक्ता बाढेका हुन् । तीन पालिकामध्ये गोकुलगंगा गाउँपालिकाले आफ्नै स्रोत र अन्य दुई पालिकाले सङ्घीय सरकारको सशर्त अनुदानमार्फत प्राप्त भएको रकमबाट जोखिम भत्ता दिइएको हो । जिल्लाको उमाकुण्ड गाउँपालिकाले कोरोना महामारीको बेला सेवामा खटिने कर्मचारीहरुलाई जोखिम भत्तामा भत्तामा २८ लाख ३१ हजार ८ सय ५५ रुपियाँ खर्च गरेको हो । कोरोना महामारीका बेला निरन्तर सेवामा खटिएर काम गरेका ४१ जना स्वास्थ्यका कर्मचारी र ९ जना अन्य क्षेत्रका कर्मचारीहरु गरी जम्मा ५० जनालाई उनीहरुको एक महिनाको तलबको ५० प्रतिशतका दरले हुन आउने रकम बराबरको जोखिम भत्ता प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दिपेन्द्र पैकराले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ को चैत महिनादेखि चालु आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा सेवामा खटिने कर्मचारीहरुलाई उक्त जोखिम भत्ता बापतको रकम प्रदान गरिएको संयोजक पैकराले बताउनुभयो । जिल्लाको गोकुगंगा गाउँपालिकाले कर्मचारीहरुको जोखिम भत्तामा करिब १९ लाख रुपियाँ खर्च गरेको छ ।
गाउँपालिकाले कोरोना महामारीको बेलामा निरन्तर सेवामा खटिने कर्मचारीहरुको जोखिम भत्तामा १८ लाख ९४ हजार ७ सय ५५ रुपियाँ खर्च गरेको हो । कोरोना महामारीका बेला निरन्तर सेवामा खटिएर काम गर्ने स्वास्थ्य र अन्य क्षेत्रका कर्मचारी गरी जम्मा ४२ जना कर्मचारीहरुलाई उनीहरुको एक महिनाको तलबको ५० प्रतिशतका दरले हुन आउने रकम बराबरको जोखिम भत्ता दिइएको गोकुलगंगा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक जागिर रायले बताउनुभयो । गत आर्थिक वर्ष २०७६÷०७७ को चैत महिनादेखि चालु आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा सेवामा खटिने कर्मचारीहरुलाई जोखिम भत्ता बापतको रकम प्रदान गरिएको हो । खाँडादेवी गाउँपालिकाले कोरोना महामारीको बेलामा निरन्तर सेवामा खटिने कर्मचारीहरुको जोखिम भत्तामा ३९ लाख ४९ हजार ७ सय ९२ रुपियाँ खर्च गरेको हो । कोरोना महामारीको बेला निरन्तर सेवामा खटिएर काम गरेका ६३ जना स्वास्थ्यका कर्मचारीहरुलाई उनीहरुको एक महिनाको तलब बराबरको ७० प्रतिशतका दरले हुन आउने रकम बराबरको जोखिम भत्ता दिइएको खाँडादेवी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारको कार्यविधिका आधारमा ५० प्रतिशत र गाउँपालिकाको निर्णय बमोजिम २० प्रतिशत गरी कुल ७० प्रतिशतका दरले जोखिम भत्ता दिइएको हो ।