वडागत रुपमा सञ्चालन हुने आयोजना सम्झौताका लागि घुम्ती शिविर

  • प्रकाशित मिति: बुधबार, पुष १५ २०७७
  • तामाकोशी

रामेछाप । पुस १५ गते,
रामेछाप नगरपालिकाले वडागत रुपमा सञ्चालन हुने आयोजनाहरुको सम्झौताका लागि घुम्ती शिविर सञ्चालन भैरहको छ । नगरपालिकाले वडागत रुपमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन हुने आयोजनाहरुको सम्झौताको लागि मंगलबारदेखि घुम्ती शिविर सञ्चान गरेको हो । रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काको नेतृत्वमा प्रशासकीय अधिकृत र प्राविधिकसहित आठ जनाको टोलीले आयोजनाको सम्झौतादेखि लिएर वडा अन्तर्गत रहेका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गर्ने काम समेत गरिरहेको छ । साथै, लोकसेवाको तयारी गरेर बसिरहेका विद्यार्थीहरुलाई लोकसेवाको तयारी कसरी गर्न सकिन्छ, कसरी अध्ययन गर्दा प्रभावकारी हुनसक्छ भन्ने बारेमा पनि भर्खरै लोकसेवा उत्तिर्ण गरेर आउनुभएका अनुभवी कर्मचारीहरुमार्फत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको रामेछापका नगरपालिकाका सूचना अधिकारी होमबहादु थापाले जानकारी दिनुभयो । सूचना अधिकारी थापाका अनुसार मंगलबार वडा नम्बर १ गोठगाउँमा पुगेर वडा मार्फत सञ्चालन हुने आयोजनाहरुको सम्झौता गरी लोकसेवाको लागि फारम भरेर बसेका ५० जना विद्यार्थीहरुलाई चण्डेश्वरी माविमा प्रशिक्षण पनि गराइएको छ । बुधबार वडा नम्बर ३ साँघुटारमा पुगेको टोलीले लोकसेवाको तयारी गरिरहेका हिमगंगा उच्च माध्यमिक विद्यालय साँघुटारका ४८ जना विद्यार्थीहरुका लागि लोकसेवाको तयारी सम्बन्धी सञ्चालन गरिएको छ । यसअघि सम्बन्धित वडाका वडा सचिवहरुले पेश्की लिएर वितरण गर्दै आएका सामाजिक सुरक्षा भत्ता बापतको रकम अब बैंक मार्फत लिन सकिन्छ भनेर वडा अन्तर्र्गतका ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सचेतना गराउने कार्यक्रम पनि भइरहेको उहाँले बताउनुभयो । नगरपालिकाले वडा नम्बर १, २, ३ र ४ का नागरिकहरुले साँघुटारमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट र वडा नम्बर ५, ६, ७, ८ र ९ का ज्येष्ठ नागरिकहरुले रामेछापमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सामाजिक सुरक्षाभत्ता बापतको रकम लिनसक्ने गरी सम्झौता गरिसकेको छ ।