रामेछाप, मंसिर १५ गते । रामेछापको लिखु तामाकोशी गाँउपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । वडा नं. ४ नागिडाँडामा सोमबार भव्य कार्यक्रमका विच अस्पतालको शिलान्यास गरेसंगै गाँउपालिकाभित्र १५ शैयाको अस्पताल बन्ने पक्का भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागमति प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले शिलान्यास कार्यक्रमलाई सम्बोधनको क्रममा अहिले नेकपा सरकारको कामको प्रतिफलहरु देख्न थालेको भन्दै प्रतिपक्ष नआत्तिन आग्रह गर्नुभयो । उहाँले नेकपाको सरकार टुटफुट हुन्छ, आफ्नो पालो आउछ भन्ने कोही कसैको सपना छ भने त्यो सपनामा मात्र सिमित हुने बताउनु भयो । उहाँले भन्नु भयो “नेकपाको सरकार हात्ति हो हात्ती हिडीरहन्छ, कुनै कुकुर भुकेर यसले आफ्नो बाटो परिवर्तन गर्दैन, यो कुकुर भुकीरहन्छ, काग कराइरहन्छ, पिना सुकीरहन्छ, सरकार अघि बढीरहन्छ, जनताको काम गरिरहन्छ ।”
जिल्ला समन्वय समितिका उपप्रमुख दिपा पाख्रिनले गाँउपालिकामा पहिलेदेखि आबश्यक रहेको अस्पताल बन्ने पक्का भएसंगै यहाँका जनताले अकालमा ज्यान गुमाउनु नपर्ने बताउनु भयो । उहाँले अब बन्ने अस्पताल महिलामैत्री, अपाङ्गमैत्री हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी नेकपा लिखुतामाकोशी गाँउपालिका अध्यक्ष उद्धव कडरियाले गाँउपालिकाभित्रका विविध समस्याहरुको वावजुत विकासले फड्को मारिरहेको बताउनु भयो । उहाँले प्रतिपक्षले भन्ने गरेको जस्तो कामै नभएको, जनप्रतिनिधीहरु हाजिर गर्न मात्र आउने गरेको जस्ता आरोप निराधार रहेको बताउनु भयो । जनप्रतिनिधीहरु विवादमा आउनु उनीहरुको विवेक र विचारले आफै फसेको बन्दै पार्टिभित्र केहि समस्या नभएको बताउनु भयो ।
नेपाली काङ्गेसका क्षेत्रिय सचिव निरोज खड्काले बल्ल लिखुतामाकोशी गाँउपालिकाभित्र आशाका किरणहरु देख्न थालेको बताउनु भयो । उहाँले पत्रकारहरुले सधै गाँउपालिकाभित्रको अशुभ समाचारहरु मात्र लेख्ने गरेकोे प्रति गुनासो गर्दै अब भने निर्धक्क भएर शुभ समाचारहरु लेख्न आग्रह गर्नुभयो ।
यसैगरी लिखुतामाकोशी गाँउपालिकाका कार्यबाहक अध्यक्ष दिपशिखा दाहालले भोलीदेखिनै अस्पतालको निर्माण प्रक्रियामा जाने बताउनु भयो । उहाँले भन्नु भयो “अहिलेको लागि हामीले २ करोड बजेट विनियोजना गरेकाछौं, हामी संघिय सरकार, प्रदेश सरकारलाई पनि आग्रह गर्छाै, चाहिने कागजपत्र, हामीले गर्ने नीतिका निर्णयहरु , सम्पुर्ण कागजपत्र अगाडी बढाउनेछौं ।”
उहाँले सम्बोधनको क्रममा थप्दै भन्नुभयो “भोलीबाट नै लागत स्टामेट निकाल्नका लागि काम अघि बड्नेछन् र यो वर्षनै बहुबर्षिय योजनामा राखेर टेन्डर अगाडी बढाउनेछौं ।”
अस्पताल निर्माणको लागि स्थानिय दिल्लीबहादुर सुनुवारले ४ रोपनी, विरबहादुर सुनुवारले १ रोपनी १२ आना निशुल्क पालिकाको नाममा जग्गादान गर्नु भएको छ भने रेखबहादुर सुनुवारले ३ रोपनी ४ आना निशुल्न दान गर्ने बचन दिनुभएको छ ।