नेकपाले फुटेर होइन अझै बलियो भएर मुलुकको नेतृत्व गर्छ : मन्त्री जम्कट्टेल

  • प्रकाशित मिति: सोमबार, मंसिर १५ २०७७
  • तामाकोशी

रामेछाप । मंसिर १५ गते ,
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) फुटेर नभै अझै बलियो भएर मुलुकको नेतृत्व गर्ने बताउनुभएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री जम्कट्टेलल पार्टी भित्रको आन्तरिक बिवादलाई लिएर बाहिर जे जस्तो हल्ला आएपनि पार्टी फुटेर नभै थप बलियो भएर अगाडी बढ्ने बताउनुभयो । सोमबार रामेछापको दोरम्बा गाउँपालिकाको टोकरपुरमा निर्माण भएको प्रहरी चौकी भवनको उद्घाटन गर्दे मन्त्री कट्टेलले पार्टी कतै फुट्ने होकी ? भन्ने कुनै पनि आशंका नगरी एकजुट भएर पार्टीलाई थप मजबुद बनाउने तिर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । अझै २० वर्ष मुलुकमा कम्युनिष्टकै नेतृत्वमा सरकार चल्ने भएकाले ढुक्क भएर पार्टीलाई थप बलियो बनाउन तिर लाग्नुपर्नेमा उहाँको जोड छ । मन्त्री जम्कट्टेलले दोरम्बा गाउँपालिकाको टोकरपुरमा करिब तीन करोड लगात र वडा नं २ दोरम्बामा करिव दुई करोड लागतमा निर्माण भएको दुईवटा प्रहरी चौकी भवनको उद्घाटन गर्नुभएको हो । दुईवटै प्रहरी भवन बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयको लगानीमा निर्माण भएका हुन् ।