रामेछापमा स्वास्थ्यकर्मी र कर्मचारी सहित थप चार जनामा कोरोना सङ्क्रमण

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १२ २०७७
  • तामाकोशी

रामेछाप । मंसिर १२ गते,
रामेछापमा एक स्वास्थ्यकर्मी र दुईजना कर्मचारी सहित थप चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले विहीबार स्वाब पठाईका मन्थली नगरपालिकाका २९ जना र जिल्ला अस्पतालका दुईजना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार आएको रिपोर्ट अनुसार कोरोना सङ्क्रमित हुनेमा ३९ वर्षका पुरुष स्वाथ्यकर्मी, नेपाल बिद्युत प्राधिकरण मन्थलीमा कार्यरत २४ वर्षका पुरुष कर्मचारी ,नेपाल टेलिकममा कार्यरत ४९ वर्षका पुरुष कर्मचारी र मन्थली नगरपालिका वडा नं १३ की ४९ वर्षीया महिला शिक्षक रहेका छन् । यो सङ्गै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ । यसमध्ये १८७ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । अहिले पुनः पोजेटिभ रिपोट आएका दुईजनासहित मन्थली नगरपालिकामा आठजना र रामेछाप अस्पतालमा एकजना गरी नौं जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३७२ जनाको स्वाब परीक्षण गरिएकोमा दुईहजार १७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको मन्थली नगरपालिकामा ९४ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २५ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा दशजना , जिल्ला अस्पतालमा नौँ जना ,उमाकुण्ड गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा तीनजनालाई कोराना सङ्क्रमण भएको थियो । रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने २५८ जनामा कोरोना सङ्क्रमण भएको छ ।