रामेछाप । कात्तिक २७ गते,
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा रामेछापमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दर बढ्दो रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारमा हुने देउसी भैलो लगायतका कार्यमा रोक लगाएको हो । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले एक जरुरी सूचना मार्फत देउसी भैलो लगायतका कार्यमा रोक लगाइएको जानकारी गराउदै जो जहाँ छौँ त्यहि रहेर सुरक्षित साथ चाड पर्व मानाउन अनुरोध गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले जारी गर्नुभएको सूचनामा जिल्लाभित्र हुने कुनै प्रकारका मेला,महोत्सव ,जात्रा,खेलकुद,धार्मिक,साँस्कृतिक कार्यक्रम,भिडभाड,जमघट हुनेखालका कार्यक्रममा रोक लगाइएको छ । त्यसैगरी पटका,आतसवाजी लगायतका विस्फोटक पदार्थको आयात ,सन्चय तथा प्रयोग,बेलुकी आठबजेपछि मदिरा तथा मदिराजन्य पदार्थको बेचबिखन तथा सेवन गर्न, कानूनले निषेध गरेको जुवा ,तास खेल्ने खेलाउने कार्यमा जिल्लामा रोक लगाइएको छ । उद्योग बाणिज्य संघ ,होटल व्यवसायी संघ,यातायात व्यवसायी,बैंक तथा वित्तिय संस्था लगायत पेशाव्यवसायीहरुले सेवा प्रदान गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गर्न गराउन हुन प्रमुख जिल्ला अधिकारी शर्माले अनुरोध गर्नुभएको छ । कानूनले निषेध गरेका क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून् बमोजिम कारवाही हुने पनि सूचनामा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको जरुरी सूचना
