रामेछाप । जेठ १४ गते,
विश्वमा महामारीका रुपमा फैलिएको संक्रामक रोग कोरोना भाइरस कोभिड १९ बाट बच्चनका लागि रामेछाप जिल्लाले पनि विभिन्न सुरक्षा सतर्कता तथा तयारी गरिरहेको छ । कोरोना भाइरसलाई मध्यनजर गरी अहिले जिल्लाभर ३ सय ३१ बेडको क्वारेन्टिन र ७१ बेडको आइसोलेशन कक्ष स्थापना गरिएको छ ।
जिल्लामा यो समाचार तयार पार्दा सम्म ३९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने हालसम्म ७ सय ६६ जनाको आरडिटी परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये चार जनाको पीसीआर रिपोर्ट आउँन बाँकि छ । जिल्लाको आठ ओटै पालिकामा गरी अहिले एक सय १२ जना क्वारेन्टिनमा बसेका छन् । नेपालमा लकडाउन जारी भएको ६४ आँै दिन बसेको संकट व्यवस्थापन केन्द्र रामेछापको बैठकले जिल्लामा अबको एक हप्तामा आठसय बेडको क्वारेन्टिन कक्ष स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णय कडाईका साथ कार्यान्वयनमा आए एकहप्तामा जिल्लामा अब थप ४ सय ६९ बेडको क्वारेन्टिन कक्ष स्थापना हुन्छ ।
तर जिल्लाका विभिन्न स्थानीय तह जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय व्यवहारिक नभएको गुनासो गर्छन । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ स्थानीय तहसंग आवश्यक समन्वयनै नगरी संकट व्यवस्थापन केन्द्रले निर्णय गर्दा कार्यान्वयनमा समस्या भएको बताउँछन् । आफुहरु कसैको कुरा नसुनी अहिले वडा तहबाटै समस्या समाधान गर्ने तर्फ लागेको उनको भनाई छ । गाउँपालिकाले बनाएको सामुदायिक क्वारेन्टिमा कोहि बस्न नमानेर प्रयोग बिहिन भएपछि अहिले वडा तहमै आवश्यकताका आधारमा क्वारेन्टिन निर्माण गर्ने तर्फ आफहरु लागेको उनको भनाई छ । अध्यक्ष तामाङले समुहमा कोहि बस्न नमान्ने र बाहिरबाट आएका सबै आफ्नै वडामा बस्न चाहाने भएकाले खाँडादेवी गाउँपालिकामा अब आफ्नो वडाको नागरिकलाई वडालेनै व्यवस्थापन गरिने बताए । उनले स्थानीय सरकारसंग क्वारेन्टिमा बस्नेहरुका लागि रेखदेख गर्न आवश्यक स्वाथ्यकर्मी नभएकाले पनि सामुदायिक क्वारेन्टिन प्रभावकारी नहुने बताए । नागरिकहरु भारत लगाएत विभिन्न स्थानबाट आफ्नो गाउँ आउने क्रम जारी रहेकाले उनीहरुलाई क्वारेन्टिनमा राख्ने र उनीहरुको स्वास्थ्य जाँच जस्ता कार्य वडा तहबाटै गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । अध्यक्ष तामाङका अनुसार खाँडादेवी गाउँपालिकामा लकडाउन जारी भएपछि २४ जना भन्दा बढि नागरिक छिमेकी मुलक भरतबाट आफ्नो घर आएका छन् । उनीहरुलाई क्वारेन्टिनमा राख्ने लगाएत अन्य व्यवस्थापन पनि वडातहबाटै गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिकामा हालसम्म १५ पीसीआर र ७६ आरडिटी परीक्षण गरिएको छ । गाउँपालिकामा कोरोना भाइरसलाई मध्येनजर गरी ११ बेडको आइसोलेशन कक्ष र ४७ बेडको क्वारेन्टिन कक्ष स्थापना गरीएको छ ।
बाहिरबाट आउने नागरिकको वडातहमै व्यवस्थापन गर्नुपर्छ : अध्यक्ष तामाङ
- प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
- तामाकोशी