कोरोना भाइरसबाट बच्न मन्थली नगरपालिकाको तयारी तथा सतर्कता

  • प्रकाशित मिति: शनिबार, चैत्र २२ २०७६
  • तामाकोशी

रामेछाप । चैत २२ गते,
रामेछापको मन्थली नगरपालिकामा शनिबारसम्म ९ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि मन्थली नगरपालिकाले उच्च सतर्कताका साथ संभावित जोखिमतालाई मध्यनजर गरी आवश्यक तयारी गरिरहको छ । नगरपालिकाले नगरको विभिन्न नाकाको ३ स्थानमा हेल्थ डेस्क राखेको छ । नगरले वडा नं १ को भैसेश्वर , वडा नं ६ को सेलेघाट र वडा नं ८ को गाइखुरामा हेल्थ डेस्क संचालन गरिरहेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले बताए ।
स्वास्थ्य शाखा प्रमुख फुयालका अनुसार नगरभित्र छिमेकी मुलुक तथा तेस्रो मुलुकबाट आएकालाई राख्नका लागि २० बेडको क्वारेन्टाइन बनाइएको छ भने तामाकोशी अस्पतालमा १४ , रामेछाप सामुदायिक अस्पतालमा ४ र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक सहितको ४ बेडको आइसोलेसन वार्ड बनाइएको छ । भैपरी आउँन सक्ने जोखिमतालाई ध्यानमा राखेर नगरपालिकाले आवश्यक स्वाथ्यकर्मी तथा आवश्यक सामाग्री सहितको द्रुत प्रतिकार्य टोली बनाएको छ । स्वास्थ्य शाखा प्रमुख फुयालले आइसोलेसन भएका अस्पताल तथा हेल्थ डेस्कमा खटिएका कर्मचारीहरुको सुरक्षाका लागि पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट)सेट लगाएत आवश्यक सामाग्री प्रदान गरिएको बताए ।
उनले आवश्यकताका आधारमा वितरण गरिने गरी नगरपालिकामा स्टक आवश्यक सामाग्री राखिएको पनि बताए । मन्थली नगरपालिकाले १ करोड रुपैयाँको कोरोना भाइरस नियन्त्रण तथा उपचार र राहत कोष स्थापना पनि गरिसकेको छ । नगरपालिकाले भैपरी आउँन सक्ने जोखिमतालाई ध्यानमा राखेर ४ वटा एम्बुलेन्सलाई अक्सिजन सहित २४ सै घण्टाका लागि तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखा प्रमुख फुयालले बताए । रामेछाप जिल्लभर शुक्रबारसम्म क्वारेन्टाइनमा बस्नेहरुको संख्या ८० पुगेको छ ।
जिल्लामा ५३ वेडका आइसोलेसन कक्ष र २ सय ६६ बेडका सामुदायीक क्वारेन्टाइन स्थापना भएका छन् । क्वारेन्टाइनमा बस्नेहरु अधिकांस आफ्नै घरमा बसेका छन् । शनिबार नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । कैलालीमा कोरोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ ।