काठमाडौं, ०३ माघ । नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । छिमेकी देश चीनमा देखिएको यो भाइरस नेपालमा भित्रिन सक्ने अनुमान गरिएको छ । यो परीक्षण गर्ने उपकरण नेपालसँग छैन । अहिले चीनबाट आएकाहरुलाई बिमानस्थलमा स्वास्थ्य परीक्षण गर्न थालिएको छ । चीनमा कोरोना भाइरस महामारी फैलिंदै गएकाले चीनबाट नेपाल आउनेहरुमा कोरोना भाइरस हुनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट फर्किने विदेशी तथा नेपाली नागरीकको निगरानी बढाइएको छ । त्यसै क्रममा चिनबाट फर्किएका ३२ बर्षीय एक युवकलाई कोरोना भाइरस भएको आशंकामा ५ दिन शुक्रराज अस्पतालमा भर्ना गरेरै निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
५ दिन भर्ना गरेर शुक्रबार डिस्चार्ज गरिएको भए पनि रगत, खकारको नमुना संकलन गरिएको छ । तर, कोरोना भाइरस भएको नभएको पुष्टी भने भएको छैन । नेपालमा सबै प्रकारको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने उपकरण पनि छैन । कोरोना भाइरसले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसको हो ।
यो भाइरसबाट बच्न नियमित रूपमा हात सफा गर्ने, माछामासु, अण्डा राम्रोसँग पकाएर मात्र खाने गर्नुपर्छ । कोरोनाभाइरस सङ्क्रमितलाई ज्वरो आउने, खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने र मृर्गौलाले काम गर्न छोडेर मृत्यु समेत हुन सक्छ । चीनमा यो तीव्र रुपमा फैलिन थालेको छ । सन् २००३ यता विश्वभरमा कोरोना भाइरसबाट ८ सय १३ को मृत्यु भएको छ ।न्युबाट 24 बाट साभार,