रामेछाप । पौष २७ गते,
सार्वजनिक विदाको दिन विना अनुमति सरकारी कार्यालयका सवारी साधानहरु संचालन हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले त्यस्ता सवारी साधनहरुमाथि निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे र प्रहरी नायव उपरिक्षक वसन्त पाठकको निर्देशनमा अनुमति विना संचालन भएका सरकारी कार्यालयका सवारी साधानहरुमाथि निगरानी बढाएको हो ।
यसैक्रममा शनिबार सदरमुकाम मन्थलीमा विना अनुमति चलाएको चारवटा मोटरसाइकल र पाँचवटा गाडीलाई नियन्त्रणमा लिई आवश्यक निर्देशन दिएर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले बताए । उनले कार्यालयको काममा नभएर ब्यक्तिगत कामको लागि विना अनुमति सार्वजनिक विदाको दिन सरकारी सवारी साधान संचालन गरिरहेको गुनासो आएपछि यस्ता साधनमाथि निगरानी बढाइएको बताए । अबको एकहप्तासम्म विदाको दिन संचालन हुने सरकारी सवारी साधानलाई सम्झाई बुझाई गर्ने र त्यसपछि कानुन अनुसार कारवाही गरिने उनको भनाई छ ।
सार्वजनिक विदाको दिन पासविना चल्ने सरकारी सवारीमाथि ट्राफिक प्रहरीले निगरानी बढाउँदै
- प्रकाशित मिति: आइतबार, पुष २७ २०७६
- तामाकोशी