रामेछापमा गुम्बा पुनर्निर्माण तथा मर्मत प्रगति शुन्य जस्तै , कर्मचारीले कामै नगरेको गुनासो

  • प्रकाशित मिति: मंगलबार, पुष १५ २०७६
  • तामाकोशी

रामेछाप । पौष १५ गते,
विनाशकारी महाभूकम्प गएको ४ बर्षमा रामेछाप जिल्लामा गुम्बा पुनर्निर्माण र मर्मतका अवस्था शुन्य जस्तै छ । जिल्लामा कति मठमन्दिरहरु भूकम्पले क्षति भए र के कति पुननिर्माण वा मर्मत सम्वार भए भन्ने तथ्याङक जिल्लामा छैन । तर भूकम्पले क्षति भएका गुम्बाहरुको तथ्याङक भएपनि पुनर्निर्माणको काम भने शुन्य जस्तै छ । २०७२ साल वैशाख महिनाको १२ , १३ र २९ गते आएको महाविनाशकारी भूकम्पले रामेछापमा ८१ वटा गुम्बाहरुमा क्षति भएको थियो । जसमा पुनर्निर्माण गर्नुपर्ने ४६ वटा र ३५ वटा मर्मत गर्नुपर्ने थियो । गुम्बाहरुको पुनर्निर्माणको चार बर्षको प्रगति हेर्ने हो भने हालसम्म भूकम्पले क्षति गरेको एउटा मात्रै टासि छोइलिङ गुम्बाको मर्ममत सम्भार गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ( भवन ) रामेछापका फोकल ईन्जिनियर किशोर विक्रम शाहिले बताए ।
पुनर्निर्माणको चार बर्षे प्रगति र्साजनिक कार्यक्रममा उनले जिल्लामा गुम्बाहरुको पुनर्निर्माणका लागि १४ करोड ९६ लाख ८६ हजार रुपैयाँ बजेट रहेकोमा पुनर्निर्माणको चार बर्षको अवधिमा जम्मा १ लाख ३९ हजार रुपैयाँमात्रै बजेट खर्च भएको छ । यता सेवाग्रहीले भने जिल्लाको गुम्बा पुननिर्माणका लागि खटिएका कर्मचारीहरुले कामै नगरेको गुनासो गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार मन्थली रामेछापबाट २ जना ईन्जिनियर र २ जना सवइन्जिनियर गरी ४ जना गुम्बा पुननिर्माण तथा मर्मतका लागि खटिएका छन् ।
तर पुननिर्माणका लागि खटिएका यी कर्मचारीहरुले राज्यले दिएको सेवा सुविधा मात्रै लिने तर काम भने केहि गर्न नसकेको सेवाग्राहीको गुनासो छ । गुम्बा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया पुरा गर्नका लागि कर्मचारीलाई भेटन् कार्यालय पुग्दा समेत कर्मचारी नहुने र भेटिएका कर्मचारीले पनि वास्ता नगर्ने गरेको सेवाग्रहीहरुको गुनासो छ । यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन रामेछापका आयोजना प्रमुख विर बहादुर रावलले भने गुम्बा पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक बजेटनै ढिलो निकासा हँुदा पुननिर्माण तथा मर्मतमा पनि ढिलाई भएको बताए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रले बनाएको सम्झौता फारम समयमै प्राप्त नभएको र सम्झौताका लागि आएका केहि सेवाग्रहीलाई फर्काइएको भएपनि कर्मचारीले काम नगरेको गुनासो बारे भने आफुलाई जानकारी नभएको बताए ।