सोलुखुम्बुमा नियम उल्लंघन गदै हेलिकोप्टरमार्फत सामान ढुवानी हुँदै

  • प्रकाशित मिति: शुक्रबार, पुष ४ २०७६
  • तामाकोशी

सोलुखुम्बु । पौष ४ गते,
सोलुखुम्बुको विभिन्न स्थानमा नियम उल्लंघन गर्दै हेलिकोप्टरमार्फत सामान ढुवानी हुने गरेको छ । कैलाश र सिम्रिक एअरको हेलिकोप्टरले खुम्बुको विभिन्न स्थानमा मनोमानी खाद्यन्न, लत्ताकपडा तथा निर्माण सामाग्री ढुवानी गरिरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा सुरक्षाको पूर्ण प्रत्याभुति भएपछि मात्रै सामान ढुवानी गर्नु गराउनु भनेर पत्राचार गरेको छ । प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाण्डौले गएको मंसिर १६ गते पठाएको चलानी नम्बर १०७८ रहेको पत्रमा खुम्बु क्षेत्रमा हेलिकप्टरमार्फत सामान ढुवानी गर्ने भए स्थानीय प्रशासनसँग अनिवार्य समन्वय गर्नु पर्ने उल्लेख छ । तर त्यसलाई अटेर गर्दै विमान कम्पनीहरु कैलाश एअर र सिम्रिक एअरले भने मनमानी उडान भर्दै आइरहेका छन् ।
प्राधिकरणको चेतावनीका बाबजुद पनि सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुबाट निर्वाध रुपमा हेलिकोप्टरमार्फत अहिले सामान ढुवानी भइरहेको छ । यहाँबाट निर्माण सामग्रीसहित खाद्यन्न, लत्तकपडा लगायतका सामाग्री जिल्लाको माथिल्लो भेग खुम्बु क्षेत्रमा ढुवानी भइरहेको हो । दिनहुँ जसो यस्ता सामग्री हेलिकप्टरमार्फत ढुवानी भइरहे पनि यो बारेमा भने जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नै छैन । यस विषयमा आफूलाई कुनै जानकारी नभएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।