काँग्रेस सभापति देउवाले ठो केरै भने काली पूर्वको भूभाग नेपालकै हो

  • प्रकाशित मिति: आइतबार, मंसिर २२ २०७६
  • तामाकोशी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले कालीपूर्वको कालापानीसहितको भूभाग नेपालको भएको दावी गर्नुभयो । महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उहाँले यसको पूर्वको भूभाग नेपालको भएकोे स्पष्ट पार्नुभयो । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरेको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उहाँले उल्लेख गर्नुभयो । सभापति देउवाले अंग्रेजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी भन्ने गरिएको नदी नै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको स्पष्ट गर्नुभयो । सभापति देउवाले भारतले नक्सा छापेर कालापानी आफ्नो भनेकामा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफूहरु सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाउनुभयो । अर्को एक प्रसङ्गमा प्रेस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उहाँले प्रेस माथि हुने हमला प्रजातन्त्रमाथिको हमला भएकोसमेत उल्लेख गर्नुभयो ।कार्यक्रममा सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पुरस्कारबाट पत्रकार किशोर नेपाललाई सम्मानसमेत गरिएको थियो । प्रेस युनियन नवलपुरले १५ वर्ष अघि स्थापना गरेको पुरस्कार यस वर्ष नेपाललाई प्रदान गरिएको हो । नेपाललाई २५ हजार र ताम्रपत्रले सम्मान गरिएको प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताउनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उहाँकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिँदै आएको छ ।