रामेछाप । कार्तिक १४ गते,
वरिष्ठ साहित्यकार तथा समाजसेवी स्वर्गीय जगदीश घिमिरेको छैठौँ वार्षिक स्मृति दिवस गृहजिल्ला रामेछापमा एक सभाको आयोजना गरी मनाइएको छ । घिमिरेले स्थापना गरेको तामाकोशी सेवा समितीको आयोजनामा मन्थलीमा विहिबार आयोजना गरिएको स्मृति सभाको अवसरमा साहित्यकार घिमिरेको सम्झनाका साथै उनिप्रति श्रद्धासुमन व्यक्त गरिएको गरिएको छ ।
तामाकोसी सेवा समितीका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , राप्रपा रामेछापका अध्यक्ष रामचन्द्र कंडेल , तामाकोसी सेवा समितीका संस्थापक सचिव ध्रुब सुवेदीले वरिष्ठ साहित्यकार तथा समाजसेवी स्वर्गीय जगदीश घिमिरेको योगदानको चर्चा गरेका थिए । उनीहरुले साहित्य र समाज सेवामा घिमिरेले गरेको योगदाललाई मुलुकले कहिल्यै भुल्न नसक्ने बताएका थिए ।
कार्यक्रममा तामाकोशी अस्पतालका निर्देशक डा.सुमन कर्मचार्य , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल , पत्रकार टिका प्रसाद भट्ट , पत्रकार अप्रील अधिकारी लगाएतले कविता मार्फत वरिष्ठ साहित्यकार तथा समाजसेवी स्वर्गीय जगदीशको योगदानको चर्चा र सम्झना गरेका थिए । कार्यक्रमका सहभागि भुवनहरि प्रसाई , मुकुन्द प्रसाद प्रसाई , झलक बहादुर कार्कीले पनि कविता मार्फ साहित्यकार घिमिरेको सम्झना गरेका थिए । 
नेपाली साहित्यको आख्यान विधामा ख्यातिप्राप्त घिमिरेको २०७० साल कार्तिक १४ गते माइलोमा क्यान्सरको कारण ६८ वर्षको उमेरमा निधन भएको थियो । उनको कृति अन्तरमनको यात्राले मदन पुरस्कार समेत प्राप्त गरेको थियो । घिमिरेले लेखेको सकस नामक आख्यान अहिले पनि नेपाली साहित्यमा बहुचर्चित छ । यसका साथै घिमिरले लेखेको लिलाम लगायतका उपन्यासहरु पनि त्यतिकै चर्चित छन् । तत्कालीन समयमा घिमिरे विभिन्न पत्रिकाहरुको स्तम्भकारको रुपमा समेत चर्चित थिए । साहित्यको क्षेत्रमा मात्र नभई उनको सामाजिक क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष रहेका घिमिरेले रामेछापको मन्थलीमा २०४५ सालमा तामाकोसी सेवा समिति नामको गैरसरकारी संस्थाको स्थापना गरी रामेछाप जिल्लामा स्वास्थ्य, खानेपानी, शौचालय निर्माण, शिक्षा र सिंचाइ लगाएतका क्षेत्रमा उल्लेख्य काम गरेका थिए ।
साहित्यकार जगदिश घिमिरेको छैठौँ स्मृति दिवस रामेछापमा यसरी मनाइयो
- प्रकाशित मिति: बिहिबार, कार्तिक १४ २०७६
- तामाकोशी