काठमाडौँ — नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रियमान्यता पाउने घोषणा गरेका थिए।
कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ। नेपाल संवत् ११४० का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेवार समुदायका गुठी, खलः, पुचः तथा सांस्कृतिक तथा साहित्यिक सङ्घसंस्थाले बिहानै ऱ्याली निकालेर नेपाल संवत्को भव्य स्वागत गरेका छन्।
विभिन्न वेशभूषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी विभिन्न टोल टोलबाट निकालिएको ऱ्याली नगरपरिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समाहित भएको थियो। नेपाल संवत् ११४० न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुठीका नाममा भइरहेको अतिक्रमण रोकेर मुलुकमा धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न सरकारले विशेष महत्व दिएको बताए। उनले कम्युनिष्टको सरकारले धर्म संस्कृति मास्नका लागि गुठी विधेयक ल्याएको भनेर केही समूहले प्रचार गरेको भए पनि किसानलाई जमिनको मालिक हुनबाट बाधा गर्ने तथा उनीहरुलाई हलिया बनाइराख्ने परम्पराको अन्त्य गर्न गुठीलाई परिस्कृत गर्न उक्त विधेयक ल्याइएको बताए।
साख्खाःको सङ्घीय राजधानीको केन्द्र भागमा शालिक बनाउन आयोजक समितिलाई सुझाव दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश कार्यक्रममा पढेर सुनाएका थिए। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् राष्ट्रिय संवत् भएकाले अब यसलाई कार्यान्वयन गर्दै लैजानुपर्ने विचार व्यक्त गरे। यसवर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।कान्तिपुर समाचारमा लेखिएको छ ।