आज काग तिहारः किन मनाइन्छ काग तिहार बुझिराखौं

  • प्रकाशित मिति: शनिबार, कार्तिक ९ २०७६
  • तामाकोशी

काठमाण्डौ ।
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खान दिएर आज मनाइँदैछ ।

कात्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै सुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक सुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।



यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक विश्वास रहेको छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।