रामेछाप । कार्तिक ८ गते,
रामेछापको मन्थलीबाट कालोबजारी गरेको आरोपमा पक्राउँ परेका दुई व्यवसायी छुटेका छन् । जिल्लाको मन्थली बिमान स्थलक नजिकै संचालित एभरेष्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र ट्रेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हामु शेर्पा शुक्रबार छुटेका हुन् ।
उनीहरुलाई कालोबजारी ऐन २०३२ अन्तर्गत कारवाही जरिवाना गरि छोडिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । पक्राउँ परेका व्यवसायी छुटेसंगै एभरेष्ट गटवे मिनीमार्टमा लगाएको ताला पनि जिल्ला प्रशासन कार्यालयले खोलेको छ । घरेलु तथा साना उद्योग विकास समिति ,रामेछाप उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र रामेछाप होटल तथा पर्यटन व्यवसायीसंघका
प्रतिनिधिहरुको रोहवरमा ताला खोलिएको हो । मिनीमार्टलाई कालोबजारी ऐन २०३२ अन्तर्गत एक लाख ५ हजार रुपौया जरीवाना गरी १५ दिनभित्र नियम अनुसार व्यवसाय दर्ता गरी तोकिएको मुल्यमा सामान विक्रि गर्न निर्देशन दिइएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद गौतमले जानकारी दिए । 
त्यसैगरी मनलाग्दी मुल्यसुसी राखेर संचालन गरिएको ट्रेकर्स ट्रान्जिट क्याफेलाई पनि कालोबजारी ऐन २०३२ अन्तर्गत ७५ हजार जरीवाना गरी १५ दिनभित्र जिल्लामा प्रचलित मुल्य सुचि अनुसार क्याफे संचालन गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । प्याकेटमा उल्लेख भएको मुल्य छोपेर आफु खुसी मूल्य राखि स्टीकर टांसेको फेला परेपछि जिल्ला प्रशासनले कालो बजारी गरेको भन्दै असोज ३० गते एभरेष्ट गटवे मिनीमार्टमा ताला लगाएको थियो । त्यसपछि कार्तिक ३ गते मंगलबार एभरेष्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र बढि मल्यसुचि राखेर संचालन गरिएको टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हामु शेर्पालाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पक्राउगरी सहोहि दिन थप अनुसन्धान लागि जिल्ला प्रशासनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरेको थियो ।
कालोबजारी गरेको आरोपमा पक्राउ परेका मन्थलीका दुई व्यवसायी छुटे, मिनीमार्टमा लगाइएको ताला पनि खुल्यो
- प्रकाशित मिति: शुक्रबार, कार्तिक ८ २०७६
- तामाकोशी