काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको छ। भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो । गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ‘प्रविधिमा आएको समस्याको कारण असोज ३० गते (बिहीबार) बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले सूचना निकालेर जनाएको छ।

‘उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी छ’, सूचनामा भनिएको छ। एनआरएनए निर्वाचन समितिका सदस्य कुल पाण्डेले ‘भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको’ अन्नपूर्ण अनलाइनलाई जानकारी दिए !मतदान बिहीबार बिहान १० बजे पुनः सुरु हुनेछ।
प्रतिस्पर्धा
अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन्। आचार्य र पन्तले नेतृत्व गरेका दुई टीमबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्षमा उम्मेदवारी दिएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट छन् भने पन्त प्रगतिशिल समूहसँग आवद्ध छन्। मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलागरी सुरु भएको हो।

वर्तमान अध्यक्ष भवन भट्ट र पूर्वअध्यक्ष शेष घलेले आचार्यलाई सघाउने भएका छन् भने पूर्वअध्यक्ष जीवा लामिछानेले पन्तलाई सघाएका छन्। एनआरएनएमा दलीय हस्तक्षेप भएको भन्दै उपेन्द्र महतो सम्मेलनबाट बाहिरिएका छन्। उनी तटस्थ बसेका छन्।
अध्यक्षलगायतका महत्वपूर्ण पदमा सहमतिको प्रयास भए पनि त्यो राति अबेरसम्म सहमति नभएपछि मतदान सुरु भएको हो। आफ्नो पक्षमा माहोल बनाउन र मतदातालाई प्रभावित गर्न दुवै पक्ष राति अबेरसम्म महाधिवेशनस्थल र राजधानीका होटलहरुमा व्यस्त थिए ।
बुधबार अपरान्ह तीन बजे मतदान प्रारम्भ गर्ने गरी निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। मतदान सम्पन्न भएको एक घन्टाभित्र मत परिणाम घोषणा हुनेछ। मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सय देखि दुई हजार प्रतिनिधि सहभागी छन्। अध्यक्ष, पाँचजना उपाध्यक्ष, महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।
अध्यक्ष पदका उम्मेद्वारहरु आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए। दुवैजना हस्पिटालिटी व्यवसायमा छन्। आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ। पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्।
मतदाताले प्रहरीको घेराभित्र चुनाव नगर्ने भन्दै नारासमेत लगाएका थिए । असहज परिस्थितिकै बीच पनि मतदान सुरु भएको सुदीप कार्कीले जानकारी दिए । २८०० प्रतिनिधि भएपनि मतदाता सूचीमा २४०० भएकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्नेछन् । अन्नपूर्ण पोस्टमा लेखिएको छ !