विशिष्टहरूको दसैं

  • प्रकाशित मिति: मंगलबार, असोज २१ २०७६
  • तामाकोशी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाएका छन्। ओलीले पत्नी राधिका शाक्य, परिवारजन, उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए। प्रधानमन्त्री ओलीले आज ४ बजेदेखि कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्दै । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाइ टीका लगाएकी छन्।



राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाएकी हुन्।

यसै गरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेकपाका महासचिव विष्णु पौडेललगायतलाई टीका लगाए।

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट यसवर्षको दसैँको टीका ग्रहण गरेका छन्। उनले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गर्दै। फोटोः रासस