रामेछापका सेवाप्रदायक निकायमा सूचनाको हक कार्यान्वयन नभएको गुनासो

  • प्रकाशित मिति: शनिबार, असोज ११ २०७६
  • तामाकोशी

रामेछाप । असोज ११ गते,
रामेछापका जिल्लाका सेवा प्रदायक निकायहरुमा सूचनाको हक पुर्ण कार्यान्वयन हुन नसकेको गुनासो आएको छ । शनिबार अन्तराष्ट्रिय सूचना दिवसका अवसरमा नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजान हुराडेक दोलखाको सहयोगमा मानवअधिकार संरक्षण सञ्जाल रामेछापले मन्थलीमा आयोजना गरेको सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था र यसको व्यवहारिक प्रयोगको अवस्था बिषयक छलफल कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
सवै सेवा प्रदायक निकायहरुले तीन तीन महिनामा आफुले गरेको कार्यसम्पादनका बारेमा जानकारी दिनुपर्ने व्यवस्था भएपति कति सेवा प्रदायक निकायहरुले कार्य सम्पादनका बारेमा जानकारी दिन त परै जाओस् आफ्नो वेवसाइड समेत आपडेट नगर्दा सूचना लिन समस्या हुने गरेको सहभागिको गुनासो छ ।
कार्यक्रमका सहभागिहरुले अहिले पनि सेवा प्रदायक निकायहरुमा पत्रकारलाई मात्रै सूचना दिनुपर्छ भन्ने मानसिकता कायम हँुदा सामान्य नागरिकलाई आवश्यक सूचना लिन समस्या हुने गरेको बताए । उनीहरुले आर्थिक बर्ष २०७४÷०७५ को महालेखा परिक्षकको कार्यालयले रामेछापमा २१ करोड ६४ लाख बेरुजु रहेको देखाउँदा पनि सम्बन्धीत निकायमा कुनै सचेतनाको विकास नभएको भन्दै गुनासो गरेका छन् । कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाइले सहभागिहरुबाट आएको बेरुजुको कुरा ,सेवाप्रदायक निकायहरुको ओइवसाइट समयमै अपडेट नहुने समस्या लगाएतका बारेमा जिल्लाका सरोकारवाला निकायको ध्यानाकर्षन गराउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापक उपाध्यक्ष मञ्जु उप्रेती, सचिव नबराज श्रेष्ठ लगायतले रामेछापको सूचनाको हकको प्रयोगको अवस्थाको बारेमा बोलेका थिए । कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जालका सदस्य ,मानवअधिकार कर्मी , पत्रकार नवराज पथिकले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था र यसको व्यवहारिक प्रयोगको अवस्थाका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा कानुन व्यवसायीहरु , नागकिर समाजका अगुवा , पत्रकारहरुको सहभागिता रहेको थियो ।