रामेछाप । भदौ ३० गते,
रामेछाप जिल्लाको ट्राफिक व्यवस्थापनलाई अझ कडाई र प्रभावकारी बनाउँने बारेमा सरोकारवाला निकायबिच छलफल भएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीको अध्यक्षता र पुर्व सांसद देवशंकर पौडेलको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा यसबारेमा छलफल भएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर भित्रिकोटीले रामेछाप जिल्लाको ट्राफिक व्यवस्थापनलाई मजवुद बनाउँनका लागि आवश्यक तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पुर्व सांसद देवशंकर पौडेलले नेपालीहरुको महान चाड दशै तथा तिहार नजिकिएसंगै यात्रुहरुको चाप बढ्दै गएकाले यसलाई मध्यनजर गरी सम्बन्धीत सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले दशैमा गाउँगाउँमा समेत यातायातको साधनको चाप हुने भएकाले जिल्लाका सबै स्थानीयतहहरुले बाटो मर्मत गरी नागरिकको यात्रा सहज लाग्नुपर्ने बताए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
ट्राफिक नियमहरुलाई कडाइका साथ कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरीले सवै स्थानीयतहहरुसंग समन्वय गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरीलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । उनले दशै तथा तिहारलाई ध्यानमा राखेर मन्थली नगरपालिका भित्रका सडकहरु मर्मत कार्य जारी रहेको बताए । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकाय सबै एक भएर लाग्नुपर्नेमा जोड दिइन् । उनले दशै तथा तिहारलाई ध्यानमा राखेर जिल्लाको ट्राफिक व्यवस्थापनलाई थप कडाई गरिने बताइन् । कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि , विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु , यातायात व्यवसायी लगाएतको सहभागिता रहेको थियो ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँने बारे रामेछापका सरोकारवालाबिच छलफल
- प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
- तामाकोशी