शैक्षिक संस्थामा कुनै पनि खालको राजनिति मान्य हुँदैन : पुर्व सांसद देवशंकर पौडेल

  • प्रकाशित मिति: आइतबार, भाद्र २९ २०७६
  • तामाकोशी

रामेछाप । भदौ २९ गते,
पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेलले शैक्षिक संस्थामा कुनै पनि खालको राजनिति गर्न नहुने बताएका छन् । आइतबार राष्ट्रिय बाल दिवसका अवसरमा रामेछाप जिल्लाको लिखुतामाोशी गाउँपालिका वडा नं २ सैपुको अरुणोदय माविको अभिभावक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पुर्व सांसद पौडेलले अब पनि शिक्षालाई माटोसंग नजोड्ने हो भने यसले विनास ल्याउने बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले शैक्षिक क्षेत्रको विकासका लागि कुनै पनि खालका आग्रह पुर्वाग्रह राख्नु नहुनेमा जोड दिए । उनले अरुणोदय माविको नयाँ भवन निर्माणको लागि आफनो तर्फबाट पहल गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रमका अन्य वक्ताहरुले शैक्षिक व्यवस्थापनको बाताबरणलाई नधमिल्याउने गरी अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद पौडेको अध्यक्षता र पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य देबशंकर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यसैबिच रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ नामडीमा रहेको कमलादेवी माविमा पनि ५६ औँ राष्ट्रिय बालदिवस विद्यालय स्तरीय विविध कार्यक्रम गरि मनाइएको छ । विद्यालयमा गठित बाल क्लबकी अध्यक्ष कक्षा १० मा अध्ययनरत छात्रा गीता खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाल दिवस र यसको महत्त्वमाथि शिक्षक लक्ष्मण आचार्यले प्रकाश पारेका थिए । स्थानीय अभिभावक तथा विद्यार्थीहरूको उल्लेख उपस्थिति रहेको उक्त कार्यक्रममा बाल दिवसका अवसरमा प्राथमिक तह एक कक्षादेखी पाँचका छात्रछात्राहरूका लागि नेपाली तथा अङ्ग्रेजी वर्णहरूबाट शब्द निर्माण प्रतियोगिता, कक्षा छ देखी आठका लागि हाजिरी जवाफ र कक्षा नौ देखी बाह्र कक्षा सम्मका लागि बाल गीत प्रतियोगिता आयोजना गरिएको थियोे । उक्त कार्यक्रममा शैक्षिकसत्र २०७६ यता गरिएका विविध कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने सम्पूर्ण छात्रछात्राहरूलाई समेत पुरस्कृत गरिएको थियोे । विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक डोरबहादुर खड्काले पुरस्कार वितरण गरेको विद्यालयकी शिक्षिका सुधा न्यौपानेले जानकारी दिइन् ।