चितवन,साउन २२ गते । माडी नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप १०१ रुपैयाँ कायम गरेको हो । नगरसभाका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमुख ठाकुर ढकालले समाजमा हुने भड्कीलोपनालाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताउनुभयो ।
निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उहाँले जानकारी दिनुभयो । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुदाँ खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद् निम्तिएको भन्दै नगरपालिकाले विभेद् अन्त्यका लागि यो निर्णय गरेको ढकालले बताउनुभयो ।
यस्तै माडीवासीले वैवाहिक कार्य गर्दा घरैमा गर्नुपर्ने भएको छ । कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको प्रमुख ढकालले बताउनुभयो ।
उहाँका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । अहिले नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि आवास सञ्चालन गरिरहेको छ । वडा नं. ६ लक्ष्मीवासमा रहेको यो आवासमा ३७ जना बालबालिका आश्रित छन् ।