रामेछाप, साउन १७ गते ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काको कार्यशैली प्रति गम्भिर आशंका गर्दै कार्यपालिकाको बहुमत सदस्यले आपति जनाएका छन् । गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल लगाएत अन्य ६ जना वडाध्यक्षहरुले रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष खड्काले ब्यापक आर्थिक हिनामिना गरेको बताएका हुन् ।
उज्यालो लिखु अभियान अन्तर्गत विद्युतिकरणको क्रममा धेरै अनियमितता गरेको भन्दै त्यसको अनुगमन गर्नु पर्छ भन्दा कार्यसमिति बैठकमा विहिबार कुर्सी हानाहान समेत भएको उपाध्यक्ष दिपशिखा दाहालले पत्रकार सम्मेलनमा जानकारी दिइन ।
वडा नम्बर १ दुरागाउँलाई विद्युतिकरण गर्न ३ करोड विनियोजन गरेकोमा अपुग भएको भन्दै विभिन्न शिर्षकबाट रकमानान्तर गरेर ५ करोडमा बत्ति बालेको थियो । विहिबार कार्यसमितिको बैठकमा दुरागाउँमा विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने कुरा उठे पछि वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराले सत्यतथ्य खर्च के कति हो अनुगमण गर्नु पर्छ भनेपछि विवाद भएको उनीहरुले बताएका छन् ।
बैठकमा प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईले अनुगमण नगरी जथाभावी रकम विनियोजन गर्न नमिल्ने भने पछि प्रमुख प्रशासकिय अधिकृत राई र वडा नम्बर सातका वडाध्यक्ष सुवास बोहोरालाई हात हालाहाल गरी कुर्सी समेत प्रहार गरेको उपाध्यक्ष दिपशिखा दाहालको भनाई छ ।
“सहन पनि सिमा हुन्छ अब त अति भयो” भन्दै आफुहरु मन्थलीमा आई पत्रकार सम्मेलन गर्न बाध्य भएको उपाध्यक्ष दाहालको गुनासो छ । विकास निर्माणका कार्यहरुमा आफुहरुलाई थाहा नदिई गाउँपालिका अध्यक्षले एकलौटीरुपमा काम गरेको र आर्थिक अनियमितताको आशंका रहेको वडाध्यक्षहरुले बताएका छन् । “आफुखुसी उपभोक्ता समिति निर्माण गर्ने र अनुगमन गरौ भन्दा पनि अध्यक्षले गरेको काममा अनुगमन गर्ने तिमिहरु को हौ ? ” भन्दै आफुहरुलाई थर्काउने गरेको वडा नम्बर दुई का वडाध्यक्ष पदमबहादुर तामाङले गुनासो गरे ।
पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडाध्यक्ष निङ्मर तामाङ, वडा नम्बर २ का वडाध्यक्ष पदमबहादर तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष लिला बहादुर बस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष सोमबहादुर तामाङ, वडा नम्बर ६ का वडाध्यक्ष शिव प्रसाद न्यौपाने र वडा नम्बर ७ का वडाध्यक्ष शुवास बोहोराले गाउँपालिका अध्यक्ष गोविन्द खड्काले तानाशाही प्रवृतिको ब्यवहार गर्ने गरेको गुनासो गरेका छन् । यस्तै कार्यपालिका सदस्यहरु बुद्धिबहादुर वि.क., सुशिला थापा र रजिना बुढाथोकीले पनि आफुहरु अन्यायमा परेको बताएका छन् ।
यता प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राईले शुक्रबारनै जिउ ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराएका छन भने सुरक्षाको ग्यारेन्टी नभए सम्म गाउँपालिका नजाने बताएका छन् ।
लिखु तामाकोसी गाउँपालिकाको बेथितिः आर्थिक हिनामिना गरेको भन्दै अध्यक्ष माथि गम्भिर आरोप
- प्रकाशित मिति: शुक्रबार, साउन १७ २०७६
- तामाकोशी