कर्मचारी अभावमा इलाका प्रशासन कार्यालय प्रिति ९ महिनादेखी बन्द

  • प्रकाशित मिति: शुक्रबार, असार २० २०७६
  • तामाकोशी

रामेछाप । असार २० गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका –५ प्रितिको लाप्चानेमा भएको इलाका प्रशासन कार्यालय गएको ९ महिनादेखि बन्द छ । कार्यालय बन्द हुदा अहिले जिल्लाको उत्तरी क्षेत्रको दुई गाउँपालिका उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको गुम्देल, वाम्ती, चुचुरे, प्रिति, भुजी, गुप्तेश्वर, कुभुकास्थली र ठोसे, लगायत ८ वटा वडाका नागरिकहरु मारमा परेका छन् ।यी भेगका सर्वसाधारणहरुलाई सहज र सरल तरीकाले प्रशासनिक सेवा प्रदान गर्ने उद्धेश्यले संचालन भएको इलाका प्रशासन कार्यालय ६ महिना सञ्चालनमा आएपछि बन्द भएको थियो ।
इलाका कार्यालय प्रमुखको सरुवा भएपछि गृह मन्त्रालयले कर्मचारी पठाउन नसकेपछि कार्यालय बन्द भएको हो । कार्यालयमा १ जना अधिकृत, २ जना नायव सुब्बा १ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी भए पनि अधिकृतको दरबन्दी कायम गरिएको थियो । इलाका प्रशासन कार्यालय सञ्चालन हुँदा स्थानीय नागरिकले सहज तरीकाले नेपाली नागरिकता, राहदानी, नाता प्रमाणित जस्ता सेवाहरु गाउँबाटै पाएका थिए । इलाका प्रशासन कार्यालय पुनः संचालन गर्न पटक–पटक गृह मन्त्रालयमा परिपत्र गर्दा समेत अधिकृत स्तरको कर्मचारी नपठाएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी लिलादेवी पाण्डेले बताइन् । उक्त इलाका प्रशासन कार्यालयको रामेछापका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।