काठमाडौं-जिल्लाको थाहानगरपालिका १० का दुई दिदीबहिनी बुबाको काजक्रियामा बसेका छन् । वुवा आमाको निधन भएपछि छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक संस्कारलाई थाहानगरपालिका वडा नम्बर १० का २१ बर्षकी अस्मिता थापा र १६ बर्षकी रेनिसा थापाले तोडीदिएका हुन् । गत असार १० गते ब्रेन स्ट्रोक रोगबाट बुबाको मृत्यु भएपछि उनीहरु काजक्रियामा बसेका छन् ।
उनीहरुका ६६ वर्षीय बाबु रामचन्द्र थापा गत चैतदेखि विरामी थिए । वुवा आमाको काजक्रिया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउनको लागी आफूहरु वुवाको काजक्रियामा वसेको उनीहरुले बताए । हामी पनि छोरा भन्दा कम छैनौ भन्ने कुरालाई पुष्टि गर्दै उनीहरु काज क्रिया गर्न अगाडि सरेका हुन् ।
समाजमा व्याप्त छोरा र छोरीविचको विभेदलाई अन्त्य गर्न र छोरीहरुले पनि आफुहरुलाई जन्मदिने वुवाआमाहरुको रेखदेखका साथै मृत्युपछि गरिने संकारमा सहभागी हुन सक्छन् भन्ने उदाहरणको रुपमा उनीहरुलाई लिन सकिने स्थानियवासीले बताएका छन् । सिम्रन खड्कले केन्द्रविन्दु अनलाईन खबरमा लेख्नु भएको छ ।
दुई छोरीले यसरी वुवाको काजक्रिया गर्ने आँट गरेपछि यो घटनाले स्थानीयवासीहरुले छोरीलाई पनि छोरा सरह व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको बताएका छन् । समुदायमा छोरा नहुने परिवारहरुको हकमा दाईभाई, उनीहरुको छोरा र त्यो पनि नभए छोरी ज्वाईले काजक्रिया गर्ने संस्कारलाई उनीहरुको सहासले चुनौती दिएको छ ।