रामेछाप । असार ३ गते,
मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या विषयक कार्यशाला मंगलबार मन्थलीमा सम्पन्न भएको छ । मन्थली नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई मानसकि तथा मनोसामाजिक रोगको बारेमा जानकारी गराई त्यसको नियन्त्रणमा स्थानीय सरकारको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको वहुसांस्कृतिक मनोसामाजिक संस्था टिपिओ नेपालका जिल्ला कार्यक्रम संयोजक पाण्डव प्रसाईँले जानकारी दिए । 
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, उपप्रमुख मायाँ कार्की लगायत नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यशालामा टिपिओ नेपालका निर्देशक सुरज कोइरालाले विश्वमा हरेक ४० सेकेन्डमा एकजनाले आत्माहत्या गर्ने गरेको तथ्याङ्क रहेको बताए । यसको कारण मनोसामाजिक समस्या नै रहेको उनले बताए । रामेछाप जिल्लामा टिपिओ नेपालले मानसिक तथा मनोसामाजिक रोग नियन्त्रणको लागि तालिम, औषधि तथा परामर्श सेवा र पैरवीका काम गरी रहेको उनले जानकारी दिए ।
कार्यक्रममा मनोविद प्राध्यापक शिसिर सुब्बाले मनोसामाजिक समस्यालाई अहिले पनि समाजले समस्याको रुपमा नलिएकोले यसबाट मानिसहरुको ज्यान जाने क्रम नरोकिएको बताए । यसको लागि सुरुदेखिनै ख्याल गर्ने हो भने धेरै दुर्घटना रोक्न सकिने उनले बताए । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले नगरपालिकाले यसको लागि योजना बनाएर काम गर्ने बताए ।
मन्थलीमा मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या विषयक कार्यशाला
- प्रकाशित मिति: मंगलबार, असार ३ २०७६
- तामाकोशी