रामेछाप । असार १ गते,
रामेछापको सदरमुकाम मन्थलीमा अत्याधिक गर्मी बढेसंगै लस्सी , मोही , दही लगाएत पीय पदार्थको माग बढेको छ । केहि समय अगाडि सम्म सामान्य जस्तै रहेको मन्थलीमा एक्कासी तापक्रम बढेपछि डेरीहरुमा मोही , लस्सी , दही लगाएत पीय पदार्थ पिउँने मानिसहरुको भिड देखिन्छ । मन्थीमा केहिदिन अघिदेखी दैनिक ३४ देखी ४४ डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । जसका कारण बजारमा चिसो पिय पदार्थहरुको माग अत्याधिक मात्रामा बढेको व्यवसायीहरुको भनाई छ । मन्थलीका सर्वसाधारणहरुको गर्मीको सितल लिने ठाउँ डेरी लगाएत पीय पदार्थ पाइने पसलहरु बनेका छन् । अहिले यहाँका मानिसहरुको घरको सितल पनि दही ,मोही लस्सी लगाएतका चिसो पीय पदार्थनै बनेको छ ।
केहि दिनअघि सम्म सामान्य रहेको दही मोही र लस्सीको माग अहिले अत्याधिक मात्रामा बढेको मन्थली बजारमा संचालित चिरन्जिबी डेरीका संचाललक भानुभक्त श्रेष्ठले बताए । उनका अनुसार अहिले दैनिक १ सय ६० लिटर मोही,दही ८ सय लिटर ,लस्सी ४ सय ग्लास, आइसक्रिम एक सय स्कुप र कुल्फी ४ सय बढिको माग आउँने गरेको छ । केहिदिन अघि सम्म दही ६ सय लिटर ,मोही ८० लिटर ,आइसक्रिम ५० स्कुपको माग आउँने गरेको थियो । यस्तै मन्थली बिच बजार देवकोटा चोकमा संचालित रामेछाप डेरीमा पनि दही, लस्सी , जुनारको जुस लगाएतका पीय पदार्थहरुको माग अत्याधिक मात्रामा बढेको छ ।
रामेछाप डेरीमा अहिले ६ सय लिटर दही , ४ सय ग्लास मोही ,२ सय स्कुप आइसक्रिम ,५ सय पीस कुल्फीको माग आउँन गरेको संचालनक किशोर पौडेलले बताए । उनले बजारको माग धान्ने गरी किसानले उत्पादन गरेको गाईको दुध पुगेको भएपनि भैसीको दुधभने मागको २५ प्रतिशतमात्रै रहेको बताए । अहिले मन्थली बजारका व्यवसायीहरुले मोही प्रति लिटर ४० रुपैयाँ , दही प्रति लिटर ९० रुपैयाँ , लस्सी प्रति ग्लास ३५ रुपैयाँमा बिक्रि गर्दै आएका छन् । त्यसैगरी गाईको दुध प्रति लिटर ७० रुपैयााँ र भैसीको दुध प्रति लिटर ८० रुपैयाँमा बिक्रि गर्दै आएका छन् । गर्मीको समयमा कोककला , फ्यान्टा , स्प्राइट ,मिरिन्डा, पेप्सी, डिउँ लगाएतका पीय पदार्थ सेवन गर्नुभन्दा मोही, दही , लस्सी पिउँन सके स्वास्थ्यलाई धेरै फाइदा हुने चिकित्सकहरु बताउँछन् ।
रामेछापको मन्थलीमा अत्याधिक गर्मी , दही , मोही ,लस्सी लगाएत पीय पदार्थको माग बढ्यो
- प्रकाशित मिति: आइतबार, असार १ २०७६
- तामाकोशी