रामेछाप । जेठ २१ गते,
राणा विरुद्धको प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा स्मृति पार्क निर्माण हुने भएको छ । उहाँहरु जन्मस्थल रामेछापको भंगेरीमा पार्क निर्माण हुन लागेको हो । दुई दाजुभाइको स्मृतिमा निर्माण हुने सो पार्क निर्माणको लागि ५ करोड ९४ लाख रुपैयाँ बजेट निकासा भएको छ । गंगालाल र पुष्पलाल दाजुभइ हुन् । उनीहरुका पिता तत्कालिन रामेछापको सदरमुकाम रामेछाप बजारमा रहेको माल अड्डामा बडा हाकिम थिए । उनी रामेछाप बजारसँगै जोडिएको भंगेरीमा डेरा लिएर बसेका थिए । दुई दाजुभाइ गंगालाल र पुष्पलालको सोही समयमा भंगेरीमा जन्म भएको थियो । 
पार्क निर्माणको लागि दुई बर्ष अघि नै घोषणा गरिएको थियो । तर सो स्थानमा व्यक्तिको जग्गा भएकोले जग्गा अधिग्रहण गर्न बजेट नहुँदा काम अगाडि बढ्न सकेको थिएन । यस वर्ष अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयलाई पार्क निर्माणको लागि ५२ रोपनी जग्गाको मुआब्जाको बजेट उपलब्ध गराएपछि अब काम अगाडि बढने भएको छ ।भंगेरी विश्वका प्रजातन्त्रवादी र कम्युनिष्टहरुको लागि पवित्र थिर्तस्थल भएकोले अब यसको तिर्थस्थलको रुपमा विकास गरिने प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुँगेलले बताए ।
दुई वर्ष अघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले पार्क निर्माणको निर्णय गरेको थियो । गंगालाल र पुष्पलाल जन्मेको क्षेत्रलाई समेटेर करिब ५२ रोपनी जग्गा अधिग्रहणका लागि बजेट भने नहुँदा काम रोकिए पनि उनीहरु जन्मीको घरको भग्नावसेशमा दुई दाजुभईको प्रतिमा भने निर्माण गरि राखिएको छ । नेकपाका केन्द्रीय सदस्य एवं पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष देवशकंर पौडेल पार्क निर्माणको कामले अब गति लिने बताउँछन् । बजेट आभामा काम रोकिएकोमा अब बजेट व्यवस्था भएकोले काम अघि बढ्ने उनले बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले खातामा पैसा आए लगत्तै मुआब्जा वितरणको काम अगाडि बढाइने बताइन् ।
६ करोडको लागतमा सहिद गंगालाल र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल स्मृति पार्क बन्दै
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २१ २०७६
- तामाकोशी