काठमान्डौ । खोटाङ जिल्लाको चिसापानी उच्च माध्यमिक विद्यालयबाट एसएलसी र भगवती उच्च माध्यमिक विद्यालय खोटाङ बजारबाट १० जोड दुई सकेँ । त्यसवेलासम्म पढाइ सामान्य थियो । उच्च शिक्षाका लागि काठमाडौं यात्रा सुरु भयो । तर, लोकसेवाको यात्रा भने काठमाडौंको दोस्रोपालिबाट मात्र सुरु भयो ।
कुशल अंग्रेजी शिक्षक बन्ने सपना थियो । अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अंग्रेजी साहित्यमा स्नातक तहमा त्रिचन्द्र कलेज र स्नातकोत्तर विश्वध्यालय क्याम्पस कीर्तिपुरबाट पूरा गरेँ । स्नातकोत्तर अध्ययन सकेलगत्तै खोटाङ फर्किएँ, अंग्रेजी भाषा शिक्षक पदमा । त्यसवेलासम्म लोक सेवा सुनेको थिएँ, तर यसको तयारी र अध्ययनबारे अनविज्ञता थियो । विश्वविद्यालयको मेरो पढाइको विषय र लोकसेवा आयोगको शाखा अधिकृतको पाठ्यक्रममा भने कहीँ तालमेल थिएन । मेरो पहुँचमा रहेको शिक्षा संकाय थियो, त्यहीँं पढेँ ।
काठमाडौं आएपछि अध्ययनसँगै निजी विद्यालयमा झन्डै १२ वर्ष अध्यापन गरेर बिताएँ । निजी क्षेत्रको वातावरणले झन् निजामती सेवालाई गन्तव्य बनाउन सकिनँ । पारिवारिक पृष्ठभुमि पनि निजामती सेवाको नभएर होला यस सम्बन्धमा खासै चासो पनि भएन । खोटाङमा अध्यापन गर्दा विद्यालयको काम लिएर शिक्षा मन्त्रालय जान खोज्दा सिंहदरबार गेटको पास नपाएर फर्किनुपरेपछि भने सोचले कोल्टे फेर्यो । भलै अर्को दिन भनसुन लगाएर काम गरियो । पहिलोचोटि भगवती उच्च माध्यमिक विद्यालयबाट ४ जनाले विशिष्ट श्रेणीमा उत्तीर्ण गरेपछि काठमाडौं फर्किने योजना फेर्ने सोच बनाएँ तर फेरिनँ ।
सिंहदरबार गेटको पास नपाएको दिन नै लोकसेवाको किताब खोज्न पुतलीसडक हानिएँ । अधिकृतको किताब बोकेर खोटाङ फर्किएँ र एक वर्ष पुनः काठमाडौं फर्किएँ । अधिकृतको योजना सहज भएन । हामी दाजुभाइ तीनजनाको काठमाडौं बसाइ थियो । खर्च व्यवस्थापन मैले गर्नुपथ्र्यो । जानेको अध्यापन थियो, तेही पेसामा लागेँ, पूर्ण रूपमा ।
अधिकृतको नयाँ पाठ्यक्रममा १५ नम्बरको अंग्रेजी समावेश भयो । अधिकृत तयारी गराउने संस्थामा अंग्रेजी पढाउने अवसर मिल्यो । तयारीमा आएका अन्य साथीहरू देखेपछि भने आत्मविश्वास बढ्यो । ३ महिनापछि पढाउन छाडेँ र लोकसेवा तयारी गरेँ । पहिलो पत्र, सामान्य ज्ञानलाई दुईवटा किताबलाई एकैपटक पढ्न थालेँ । जसबाट तुलना गर्न फरक छुट्याउन तथा गल्ती पत्ता लगाउन सहज हुने ठानेँ । भूगोललाई समूहकृत गरेँ, इतिहासलाई समयरेखा बनाएँ । अन्य एकाइलाई सदृश्य सम्झिने बानी बसाएँ । आइक्यु कठिन लाग्थ्यो । अंग्रेजी माध्यमको किताबका सबै उदाहरण पढिसके पछि भने आत्मविश्वास बढ्यो ।
कुशल अंग्रेजी शिक्षक बन्ने सपना थियो । अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अंग्रेजी साहित्यमा स्नातक तहमा त्रिचन्द्र कलेज र स्नातकोत्तर विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट पूरा गरेँ । अंग्रेजी भने राम्रै थियो कुनै छुट्टै तयारी गर्नुपरेन । दोस्रो, तेस्रो र चौथो पत्रको लागि भने कलेज पढेको जसरी नै पढ्ने नोट बनाउने गर्दै पढेँ । बजारका किताब पढेँ । इन्टरनेट सर्फिंग राम्रैसँग थियो । लेख्न नेपाली माध्यमभन्दा अंग्रेजी सहज लाग्थ्यो । अंग्रेजीमा नै लेख्ने निधो गरेँ । उक्त वर्ष मैले पढाएका कतिपय साथीहरू सफल हुनुभयो तर म भने असफल भएँ । कारण भने पढाइ भएको थियो, तर लेखाइ थिएन । बिहान ६ः१५ देखि बेलुकी ७ बजेसम्म अध्यापनमा समय व्यतीत हुँदा तयारीको समय नपुगेको ठानेँ ।
दोस्रो वर्ष पढ्ने तरिका फेरेँ, भलै भाषाचाहिँ फेरिन । तीनजनाको एक समूह बनाएर छलफल गर्न सुरु भयो । एकपटक पढ्ने दुईपटक लेख्ने र तीनपटक उक्त विषयवस्तुकाबारे सोच्ने ढाँचा बनाइयो । एक शीर्षकलाई ३३ वटा उपशीर्षकमा टुक्र्याइयो । यसका लागि समय अपुग भएपछि बेलुकीको कलेज छाडिदिएँ । दैनिक ४ घन्टा जति अध्ययन गर्ने गर्थें । शनिबार हुने अभ्यास परीक्षामा निरन्तर भाग लिएँ । पृष्ठपोषण कक्षाले जानेर मात्र नहुने रहेछ, ढाँचामा लेख्नुपर्ने चेत खुल्यो।
पहिलो पत्र अघिल्लो वर्षजत्तिको राम्रो भएन । सायद प्रश्न नै जटिल थिए कि, दोस्रो पत्रको जाँच दिएपछि भने निराश भएको थिएँ । साथीहरूले नै थप पत्रमा सहभागी हुन उत्प्रेरित गरेपछि मात्र सबै पत्रको परीक्षा दिएँ, आशा भने थिएन । सोही वर्ष शिक्षा सेवा खुलेको थियो । त्रिवि सेवाको उपप्राध्यापक खुलेको थियो । वैशाख १२ को भूकम्पपछिको त्रासदीबीच दुवैमा सहभागी भएँ । भाद्रमा सबैको नतिजा आयो । सबैमा लिखितमा उत्तीर्ण भइयो । पढ्नभन्दा संकट रोज्न भयो । सबैले शाखा अधिकृत रोज्न सुझाए (सिंहदरबारको गेट पास सम्झिएँ) अरूलाई छाडिदिएँ । निजामती सेवा मेरा लागि सपना थिएन, घटना विशेष मात्र ।
तर, यसैमा वृत्तिविकास खोज्ने निर्णय लिनुपछाडि यसको गरिमा, इज्जत, प्रतिष्ठा, जागिरको स्थिरता, अध्ययन, तालिम र देशभरिको भौगोलिक, सामाजिक सांस्कृतिक अनुभव हासिल गर्ने अवसर प्रमुख कारण हुन् । यसबाट मेरा अन्य विकल्पभन्दा ज्यादा समाजसेवा गर्न सकिने कुरामा विश्वस्त भएँ । हाल व्यक्ति र घटना विशेषलाई लिएर निजामती सेवाकै खोइरो खनेको देख्दा भने नवप्रतिभालाई विकर्षण गर्ने हो कि भन्ने चिन्ता लाग्छ ।
साभारः नयापत्रिका दैनिक